काठमाडौँ – गृहमन्त्री विष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार मन्त्रालय पुगेर मन्त्रालयको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिए । उनले मातहतका कार्यालयको काममा आफुले हस्तक्षेप नगर्ने तर आफुलाई नतिजा चाहिने जिकिर गरे ।


ADVERTISEMENT

# # #


मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफुलाई भेट्न नआउन निर्देशन दिए । त्यस्तै उनले अदालतमा भएका मुद्धा र राजनीतिक परिस्थीतको प्रभाव गृह प्रशासनमा पार्न नहुने भन्दै नियमित काममा केन्द्रीत हुन पनि निदेशन दिए ।  प्रहरी आईजीपी शैलेश थापातिर हेर्दै उनले भने, ‘म कहाँ एउटा पुलिस पनि नआओस्, साँच्चै अन्याय भएर आउँछ भने त्यो उजरी म सुन्न तयार छु । नभए सरुवा, बढुवाका लागि, थमौतिका लागि वा विभिन्न अवसरका लागि कुनै पुलिस म कहाँ नआओस् ।’ उनले प्रहरीका निम्ती आईजीका हैसियतले गर्न मिल्ने काममा आफूले हस्तक्षेप नगर्ने उनले जनाए ।

गृहमन्त्री पौडेलले मनसुनको अवस्थामा हुन सक्ने प्राकृतिक प्रकोपपछिको उद्धारको काममा तयारी अवस्थामा जुट्न निदेशन दिए । उनले अहिले दलीय व्यवस्थाको निर्दलीय परिभाषा गर्ने चेष्टा भएको भन्दै दलीय व्यवस्थाप्रति गहिरो प्रतिवद्धता रहेको स्पष्ट पारे ।

‘मुलुक निर्दलीयतातर्फ गयो कि क्या हो, दलका सदस्यहरु, सांसदहरु स्वतन्त्र हुन्छन् कि क्या हो भन्ने किसिमले पनि पैरवी गर्न खोजिरहेका छन् ।’ उनले भने, ‘सांसदहरुमा ह्वीप लाग्दैन भन्ने कोणबाट टिप्पणी गर्न खोजिरहेका छन् । दलीय व्यवस्थाको निर्दलीय परिभाषा गर्ने चेस्टा पनि भइरहेको छ । तर, हामी दलीय व्यवस्थामा छौँ । यो हामीले लामो संघर्षको जगमा निर्माण गरेका हौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरि ५ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।