सिरहा– सिरहाको कल्याणपुर नगरपालिका– ९ का विनोद यादव मल लिन मिर्चैया पुगे । कल्याणपुर नगरपालिकाको लागि ल्याइएको रासायानिक मल त्यहाँको डिलरमा वितरण भइरहेको जानकारी पाएर उनी सोमबार बिहान ८ बजेतिर त्यहाँ गए ।


ADVERTISEMENT


उनी त्यहाँ पुग्दा कोही मल लिएर फर्कँदै थिए । ५० जनाभन्दा बढी मलका लागि लाइनमा उभिइरहेका थिए । उनी पनि लाइनमा बसे ।


ADVERTISEMENT

# # #


तर, लाइनमा लागेकाहरूलाई क्रमशः बोलाइएन । लाइनको बीचमा रहेका एक जना र लाइनमा नरहेका अर्का एक जनालाई बोलाइयो । उनीहरूलाई मल दिइयो । विनोद लाइन बसेको १०–१५ मिनेटपछि सूचना आयो– ‘मल सकियो, तपाईंहरू जानुस् ।’

‘लाइनमा लागेको एकछिनपछि मल सकियो भनेर सूचना आयो,’ उनले भने, ‘जबकी लाइन नलागेका मान्छेलाई दिइयो । गोदाममा मल पनि थियो ।’ मल हुँदाहुँदै पनि नदिएपछि उनीहरूले एकछिन गोदाम घेराउ गरे ।

जनप्रतिनिधिले सबै किसानलाई नभइ आफ्ना आसेपासेलाई मात्रै मल दिएको उनीहरूको आरोप थियो । वडाध्यक्ष सूर्यनाथ यादवले आफ्ना आसेपासे, पार्टीका र निकटका सीमित मानिसलाई बिहानै बोलाएर मल बाँडेको उनीहरूको आरोप छ ।

‘आसेपासे र निकटका सीमित व्यक्तिलाई मात्रै खबर गरिएको थियो,’ मल पाउन नसकेका कल्याणपुर ९ का सुरज यादवले भने, ‘मल वितरण भइरहेको जानकारी पाएपछि म पनि आएँ । तर, रित्तै फर्किएँ । यो मल वास्तविक किसानका लागि रहेनछ । कार्यकर्ता र आसेपासेका लागि पो रहेछ ।’

कल्याणपुर नगरपालिकाले ४ वटा सहकारी संस्थालाई रासायानिक मलका लागि डिलर दिएको छ । जम्मा १२ वटा वडा रहेको कल्याणपुर नगरपालिकामा सफल महिला कृषि सहकारी संस्थाले २, अग्रशील महिला कृषि सहकारी संस्थाले २, साना किसान सहकारी संस्थाले ५ र मझौलिया कृषि सहकारी संस्थाले ३ वटा वडाको जिम्मा पाएको छ ।

जसमध्ये नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को जिम्मेवारी पाएको मझौलिया कृषि सहकारी संस्थाले आफ्नै नगरपालिकामा नभई मिर्चैया नगरपालिकाको वडा नम्बर ४ स्थित एउटा घरमा गोदाम राखी मल वितरण गरिरहेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड लहानले नगरपालिकालाई धान सिजनका लागि एक हजार ४० बोरा युरिया र पाँच सय ६० बोरा डीएपी उपलब्ध गराएको छ । जसमा हरेक वडाको भागमा ८६ बोरा युरिया र ४६ बोरा डीएपी परेको छ ।

नगरपाकिलाले युरियाको प्रतिबोरा मूल्य ९२० तोकेको छ भने डीएपीको प्रतिबोरा २३ सय ७५ तोकेको छ । तर, सहकारीले किसानसँग युरियाको ९५० र डीएपीको २४ सय रुपैयाँ लिइरहेको छ । ‘किसानसँग ठगी भइरहेको छ,’ कल्याणपुर ९ कै रविन्द्र यादवले भने, ‘तर, कोही बोलिरहेको छैन ।’ आसेपासेलाई गुपचुप तरिकाले बाँड्नकै लागि नगरपालिकाभन्दा अन्यत्रै डिलर राखिएको उनको आरोप छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख जयनाथ साह प्रतिवडा दुई हजार बोरा मलको आवश्यकता भए पनि थोरै मल दिइएकोले समस्या भएको बताउँछन् । जति बोरा मल छ, त्यसबाटै सबै किसानलाई भाग लगाएर वितरण गर्दा हुन्थ्यो नि? भन्ने प्रश्नमा उनले भने, ‘सहकारीले खुद्रा दिँदैन, बोरै दिन्छ ।’

नगरपालिकाले तोकेको मूल्यभन्दा बढी लिइरहेको सन्दर्भमा उनले सहकारीहरूले तोकिएको मूल्यमा घाटा लाग्ने भन्दै मल ल्याउन नमानेपछि मौखिक रुपमा युरियाको ९५० र डीएपीको २४ सय लिइदिन भनेको उनले बताए ।

वडा ९ का अध्यक्ष सूर्यनाथ यादवले निकटका व्यक्तिलाई मल बाँडिएको आरोपमा सत्यता नरहेको दाबी गरे । ‘आवश्यकता ठूलो छ,’ उनले भने, ‘तर, सामान थोरै छ । जो पहिले आए, उनीहरूले लिएर गए । त्यसैले यो आरोप निराधार हो ।’

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसप्रसाद दासले यस विषयमा आफूलाई केही जानकारी नभएको बताए । ‘मलाई यस विषयमा केही जानकारी छैन । बुझेर भन्छु’, उनले भने ।

जिल्लाभरको समस्या उस्तै

धान खेतमा युरिया हाल्ने बेला भएको छ । रोपाइँ गरेको २५/३० दिनमा युरिया मल हालिसक्नुपर्छ । तर, सिरहाका किसानले युरिया नपाएर भौतारिनुपरेको छ । मल वितरण गर्दै आएका सहकारीहरूमा मलका लागि किसान पुग्ने गर्छन् । र, रित्तो हात घर फर्कन्छन् ।

स्थानीय तहमा मल आए पनि सबै किसानले मल पाउन सकिरहेका छैनन् । मल वितरणमै विभेद हुने गरेको छ । ‘थोरै मल आउँछ, जनप्रतिनिधिको आसपासकै मान्छेमा सकिन्छ,’ सिरहा नगरपालिका १३ का सुवोद मुखिया भन्छन्, ‘मल नपाउँदा धान बाली बिग्रिन लागेको छ ।’