काठमाडौँ – यातायात व्यवस्था विभागले प्रदेश मन्त्रालयमार्फत देशभरका सबै कार्यालयलाई सवारी लाइसेन्सको परीक्षा खोल्ने अनुमति दिएको छ । कोरोना संक्रमण घटि नसकेकाले स्वास्थ्य मापदण्ड बनाएर यसै सातादेखि लाइसेन्सको परीक्षा खोल्न मिल्ने गरी कार्यालयहरुलाई अनुमति दिएको हो ।


ADVERTISEMENT


विभागका प्रवक्ता लोकनाथ भुषालले सेवाग्राहीका लागि एक साता अघि सूचना निकालेर परीक्षा लिन अनुमति दिइएको जानकारी दिए । ‘यो सातादेखि परीक्षा लिन अनुमति दिएकोमा कार्यालयहरुले एक साताको सूचना निकाली परीक्षा लिन सक्नेछन्,’ उनले भने, ‘लामो समय परीक्षा रोकिएकाले कार्यालयहरुले पनि तयारी गर्नुपर्ने होला यो सातादेखि एक/दुई साताभित्र देशभरका कार्यालयबाट ट्रायल र लिखित गरी दुबै किसिमको परीक्षा सञ्चालन हुन्छ ।’


ADVERTISEMENT

# # #


विभागले एक चरणमा लिखितमा एक कोठामा २५ जना रहने गरी १ सय जनाको र प्रयोगात्मक परीक्षामा एक चरणमा ५० जनाको मात्रै ट्रायल लिन कोभिड १९ संक्रमण विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालनसम्बन्धी मापदण्ड २०७८ बनाएको छ ।

परीक्षा सञ्चालन हुनुभन्दा १५ मिनेट अघि मात्रै भिडभाड नहुने गरी परीक्षा हलमा सहभागी गराइ परीक्षा लिनुपर्ने मापदण्ड विभागले बनाएको छ । परीक्षार्थी, कर्मचारी र कार्यालयका लागि अनिवार्य मास्क, स्यानिटाइजर र भौतिक दूरीसहितको स्वास्थ्य मापदण्ड बनाइएको छ । सोहीअनुसार परीक्षा लिन विभागले कार्यालयहरुलाई निर्देशन दिएको हो ।