काठमाडौँ – राष्ट्रियसभाको दशौँ अधिवेशन सुरु भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु गर्दै सबै सदस्यलाई स्वागत गरे । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएअनुरूप संसद्को अधिवेशन सुरु भएको हो ।


ADVERTISEMENT


बैठकको प्रारम्भमा अध्यक्ष तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसको लगत्तै प्रतिपक्षी नेकपा (एमाले)का सांसदले उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।


ADVERTISEMENT

# # #


मुख्य सचेतक भट्टराईले दार्चुला घटनामा सरकार राष्ट्रिय स्वाधीनताप्रति गम्भीर नभएको मात्र नभई आफ्ना नागरिक तुइन चँुडिएर बेपत्ता भएका घटनामा बोल्नसमेत नसकेको आरोप लगाए ।

कोरोनाले देश अस्तव्यस्त हुँदासमेत अघिल्लो सरकारले ल्याएको खोप व्यवस्थापन गरेर सरकारले जनतालाई सङ्क्रमणबाट जोगाउन नसकेको आरोप लगाउँदै नेता भट्टराईले ‘लोकतन्त्रलाई अप्ठेरो तुल्याउने ढङ्गबाट सभामुखको निर्णय’ले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने बताए ।

सभामुख वकिल र न्यायाधीशको भूमिका खेल्न उद्दत भएको आरोप लगाउँदै उनले लोकतन्त्रको मूल्यमान्यतालाई खण्डित तुल्याउने भूमिकाले यसमाथि खतरा उत्पन्न भएको धारणा राखे ।

मुलुक र जनता बाढीपहिरो, डुबानका पीडामा आक्रान्त रहेका बेला सरकार एमालेलाई विभाजन गर्ने काममै सभामुख व्यस्त रहेको आरोप लगाउँदै उनले लोकतन्त्र र संविधानको संरक्षणको सुनिश्चिता नभई संसद् चल्न दिइन्न भनी उभिएर विरोध जनाए ।

अध्यक्ष तिमिल्सनाले प्रतिनिधिसभाबारे उठेका प्रश्न सोही सदनमा छलफल हुनुपर्ने जनाउँदै राष्ट्रियसभाको अलग गरिमालाई ख्याल गरेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि एमालेका सांसदले उठेर विरोध गरिरहे । तत्पश्चात अध्यक्ष तिमिल्सनाले बैठक आधा घण्टाका लागि स्थगन भएको घोषणा गरे ।