नवलपरासी – ब्याडको लागि नेपाल सरकारले अनुदानमा दिएको बोकाको नै सुनवल नगरपालिकाका १३ का स्थानीय र जनप्रतिनिधि मिलेर मासु  खाएका छन् ।


ADVERTISEMENT


पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले  नश्ल सुधारका लागि अनुदानमा दिएको बोका किसान र जनप्रतिनिधिले काटेर खाएका हुन् ।


ADVERTISEMENT

# # #


महा अष्टमीको दिन बोयर जातको उच्च नश्लको बोका उनीहरूले काटेर खाएको पाइएपछि चौतर्फी चर्चाको विषय बनेको छ । सरकारले मासुको उत्पादन बढाउन विभिन्न तबरले अनुदानमा बोका दिँदै आएको छ भने यता किसान र जनप्रतिनिधि ३ लाखसम्मको ब्याडे बोका उत्पादनमा ध्यान नदिई मासु खाइरहेका छन् ।

दुई वर्ष अघि सुनवल नगरपालिकाले अष्ट्रेलियन प्रजातिको बोयर बोका अनुदानमा दिएको थियो । वडा नम्बर १३ का किसानहरूका लागि उन्नत प्रजातिको बीउ उत्पादन गर्ने भन्दै नगरपालिकको लगानीमा २ लाख ५८ हजार रूपैयाँको बोयर जातको बोका स्थानीय किसान गंगाराम गैरेलाई पाल्न दिइएको थियो ।

यता सुनवल नगरपालिकाका पशु विकास शाखा प्रमुख मिश्रीप्रसाद गिरीले भने बोका बिरामी भएकोले किसानले काटेको बताएर पन्छन खोजे । अनुदानको बोका हटाउनको लागि कार्यविधि नगरपालिकासँग नभएकाले काट्न आफूहरूले अनुमति दिन भने नसक्ने बताउँदै उनी पन्छिए  ।

स्थानीय सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत अनुदान कार्यक्रमअनुसार सुनवल नगरपालिकाको २ लाख ८० हजार र किसानको ७८ हजार रूपैयाँ लगानीमा सो बोका ल्याइएको हो । नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १३ का वडाध्यक्ष कृष्णप्रसाद देवकोटाले बोका पटक–पटक बिरामी भएपछि किसानले आफूहरूलाई सोधेर काटेको बताए ।

‘बोका ७८ केजीसम्म पुगेको थियो,’ प्रवक्ता देवकोटाले  भने, ‘बोका पालेका किसान गैरेले बोयर प्रजातिको अर्को बोका दिने शर्तमा काटेका हुन् । विषय सानो हो तर ठूलो बनाइयो ।’

यता सरकारको लगानी भएको कुनै पनि सामान वा वस्तु बेच्दा टेन्डर बोलाउनुपर्ने नियम छ । बोका बिरामी भनेर आफूखुशी काट्नु सरकारको लगानी भएका कारण कानुनत: अपराध हो ।