वीरगञ्ज – नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आउँदो शुक्रवार युवा महिला उद्यमी सम्मेलन गर्ने भएको छ ।


ADVERTISEMENT


बुधवार वीरगञ्जमा आयोजित पत्रकार सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले बताएको छ । मोफसलमै पहिलो पटक वीरगञ्जमा हुन गइरहेको महिला उद्यमी सम्मेलनमा १०० भन्दा बढी उद्यमीको सहभागिता रहने एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए ।


ADVERTISEMENT

# # #


सम्मेलनबाट महिला उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजकको छ । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने सम्मेलन संयोजक मनीषा सुनुवारले बताइन् ।

‘उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने छन्,’ सुनुवारले भनिन् ।

जनसंख्यामा आधाभन्दा बढी अंश समेटेका महिलाको सशक्तीकरणविना सापेक्ष विकास सम्भव नभएकाले आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउन आवश्यक रहेको आयोजकको भनाइ छ ।

‘महिला उद्यमशीलता प्रवद्र्धनका लागि सम्मेलन आयोजना हुन गइरहेको छ । सम्मेलनबाट उद्यमशीलतासँगै आइपर्ने चुनौतीको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ,’ अध्यक्ष अग्रवालले बताए ।

सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया हुने छन् ।

उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवासयका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुने आयोजकको भनाइ छ ।

सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्ने छन् । उद्यमका क्षेत्रमा सफल महिला उद्यमीका संघर्ष र धैर्यताका अनुभव नयाँ उद्यमीका लागि उद्यमयात्राका क्रममा सन्दर्भ सामग्री बन्न सक्ने र स्टार्टअपका समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र त्यसको प्रस्थानबिन्दु बन्न सक्ने बताइएको छ ।

सम्मेलनमा महिला उद्यमशीलताका समस्या र त्यसको निराकरणका उपायहरूमा छलफल गरी आएका निष्कर्षलाई सरोकारका पक्ष तथा निकायहरुमा पहल गरिने आयोजकको उद्देश्य छ । ‘यसका निम्ति रचनात्मक पहल गरिने पनि एनवाईईएफको विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा लेडिज सर्कल नेपाल(एलसीएन) को सहकार्य रहेको बताइएको छ ।