काठमाण्डौं-छायाँनाथ रारा नगरपालिका १० जिउलाकी २२ वर्षीया सरस्वती नेपाली मंगलबार दिउँसो बाटौमै सुत्केरी भएकी छन् ।
घरमा सुत्केरी व्यथाले च्यापेपछि आमासँग हिँडेरै जिल्ला अस्पताल जाने क्रममा उनले श्रीनगरको घाटस्थित बाटोमा छोरा जन्माएकी हुन् ।
उनका पति मजदुरीका लागि भारतमा छन् ।
घाट प्राविका प्रधानाध्यापक गगनबहादुर शाहीले बाटोमा सुत्केरी भएको देखेपछि टेलिफोनबाट स्थानीयलाई खबर गरेका थिए ।
स्थानीयले स्टेचरमा राखेर सुत्केरीलाई अस्पताल पुर्याएको रोवा तल्लेख गाउँका अंक बुढाले बताए । सरस्वती र उनको बच्चाको अवस्था सामान्य रहेको डा. डबल मल्लले जनाए ।