-हिमालयपोष्ट विशेष संवाददाता


ADVERTISEMENT


कलकत्तामा कुनैबेला महावीरशमसेर राणाको ‘टाइगर सिनेमा हल’ थियो । पुराना कांग्रेसजनलाई समझना होला । तर, नयाँ पुस्ताका कार्यकर्तालाई थाहा नहुन सक्छ । सोही सिनेमा हलमै २००६ साल चैत्र २७ गते भएको विशेष भेलामा सुवर्ण शमसेर र बीपी कोइराला दुई अलग-अलग पार्टीको एकिकरणपछि पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखिएको थियो ।


ADVERTISEMENT

# # #


अब यहींनेरबाट जननेता बी.पी. कोइरालाको महान व्यक्तित्वको परिचय खुल्दै जान्छ । यो एकता भेलाले नेपाली कांग्रेसको सभापतिमा मातृकाप्रसाद कोइराला र महामन्त्री महेन्द्रविक्रम शाहलाई चयन गरेको थियो । हुन त गणेशनमान सिंहले बीपीलाई नै सभापति बनाउने प्रस्ताव राखेका थिए । बीपीको नामप्रति नेपाल प्रजातन्त्र कांग्रेसका सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय पनि सहमत थिए । तर, महावीरशमशेर सहमत नभएकाले ‘मातृकाबाबु’लाई सभापति बनाइएको गणेशमान सिंहको आत्मवृत्तान्तमा उल्लेख छ ।

नेपाली राजनीतिमा मात्र हैन, नेपाली कांग्रेसमै उतिबेला शान्तिपूर्ण आन्दोलन या सशस्त्र क्रान्ति गरी दुइ पक्षबीच संघर्ष हुँदै आएको थियो । सभापति मातृकाप्रसाद कोइराला र बीपी कोइरालाबीच मतभेदहरु सतहमा आउन थाले । बीपी र सुवर्णशमशेरको जोड राणाविरुद्ध सशस्त्र क्रान्तिको पक्षमा थियो भने गान्धीवादी मातृका शान्तिपूर्ण संघर्षको पक्षमा । मातृकाको गुटमा महावीरशमशेर, महेन्द्रविक्रम शाह, सीबी सिंह, डीएन प्रधान आदि थिए भने बीपीको गुटमा सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पूर्णसिंह खवास, दिमान सिंह थिए । जे होस्, दुवै पक्षलाई मिलाउन ‘नेपाली कांग्रेस’ नाम रहेपछिको पहिलो विधानमा ‘जुनसुकै उपायद्वारा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने’ लक्ष्य उल्लेख गरियो ।

सभापति मातृका भए पनि २००७ सालको क्रान्ति बीपीकै प्रत्यक्ष निर्देशन र कमान्डीङमा उत्कर्षमा पुग्यो । मुक्ती सेनाले चौतर्फी रुपमा राणा शासनलाई घेराबन्दी गरे । श्री ३ मोहनशमसेर राणाको सत्ता हल्लीन थाल्यो ।

नेपालको आन्तरिक संघर्ष चर्किँदै गएका बेला राजा त्रिभुवन भागेर दिल्ली प्रवासमा गए । आखिर २००७ सालको क्रान्तिलाई दिल्ली सम्झौतामा टुंग्याएकोमा बी.पी. कोइराला पनि खासै सन्तुष्ट थिएनन् ।

यसलाई केलाउनु आजको सन्दर्भमा जरुरी छ, किनकी बारम्बार नेपालका कम्युनिष्टहरुले ‘दिल्ली सम्झौता धोका हो’ भन्दै कांग्रेसविरुद्ध राजनीति गर्दै आएका छन् ।

कांग्रेसका पाका नेता रामहरी जोशीले आफ्नो संस्मरणमा उल्लेख गरे अनुसार क्रान्ति स्थगनदेखि राणा, कांग्रेस र राजाबीच सम्झौता गर्ने विषयमा सभापति मातृका र बीपीबीच चर्को मतभेद थियो । बीपी समाजवादी नेता थिए, जसको भारतका समाजवादी नेताहरु राममनोहर लोहिया र जयप्रकाश नारायणसँग घनिष्ठ सम्बन्ध थियो । बीपीको व्यक्तित्व कस्तो भने, भारतका तात्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलेसमेत ‘डोमिनेट’ गर्न सक्दैनथे । नेहरुका लागि राजा त्रिभुवन र कांग्रेस सभापति मातृका नै प्रिय थिए । यसैकारण बीपीलाई करीब करीब बाइपास नै गरेर दिल्ली सम्झौता गरिएको पुराना पाका नेताहरु बताउँछन् ।

बीपी राणा सरकारसँग नेपालमै वार्ता र सम्झौता गर्नुपर्छ भन्ने मान्यताका पक्षपाती थिए । नेपालको विराटनगरमै वार्ता र सम्झौता गर्न भनी बीपीले राखेको प्रस्ताव नेपालका लागि तात्काली भारतीय राजदूत सीपीएन सिन्हा (चन्डेश्वर प्रसाद सिंह)ले रोकिदिएको डा. राजेश गौतमको पुस्तकमा उल्लेख छ ।

राजा त्रिभुवनलाई दिल्ली पुग्नासाथ भारतले एकखालको नियन्त्रणमा राख्यो । हैदरा हाउसमा उनी कैदी सरह भए । बीपीलाई पनि राजासँग भेट्न दिइएन । उता मातृकाले चाहिँ भारतले राखेकै प्रस्तावमा सहमति जनाए, जसलाई दिल्ली सम्झौताका रुपमा बाहिर ल्याइयो । बीपी त्यसप्रति सन्तुष्ट थिएनन् । दिल्ली सम्झौतापछि मुलुकमा प्रजातन्त्र त आयो, तर कांग्रेसभित्र चाहिँ कलह र विभाजनको बिउ रोपियो । बीपी भर्सेस मातृकाको कलह चर्किँदै गयो ।

क्रान्तिपछि श्री ३ मोहनशमसेरको प्रधानमन्त्रीत्वमा बनेको अन्तरिम सरकारमा बीपीको नेतृत्वमा कांग्रेस पनि सहभागी भयो । अब चाहिँ पार्टी र सरकारबीच तालमेल मिल्न छाड्यो । पार्टी सभापतिमा मातृकाले बीपीलाई असहयोग गर्न थालेको रामहरि जोशीको पुस्तकमा उल्लेख छ ।

बीपीलाई पार्टी नेतृत्वमा रहेका मातृकाको समूहले असहयोग गरेको बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा पनि उल्लेख गरका छन् । क्रान्तिका बेला कांग्रेसले गठन गरेको विभिन्न सरकार र मुक्ति सेनाको व्यवस्थापनमा मातृकाले बीपीको सँधै गोडा तान्ने काम गरिरहे । सरकार र सेनाका कमान्डरलाई ‘सेटलमेन्ट’ हुन नदिन मातृकाले उचालेको बीपीकै आत्मवृत्तान्तमा उल्लेख छ ।

यस्तैमा गृहमन्त्री बीपीले सुरक्षा कानुन ल्याए । यो कानूनको विरोधमा कम्युनिष्टदेखि राजावादी र राणाावदीहरु सबै लागे । मातृकाले समेत उचाले । कानूनको विरोधमा निकालिएको जुलुसमा प्रदर्शनकारीमाथि काठमाडौंको न्यूरोडमा गोली चल्यो । गोली लागेर एकजना युवा चनियाँकाजी श्रेष्ठको मृत्यु भयो । यसले आक्रोशको आगोमा झन घिउ थप्ने काम गर्यो ।

यो मौकामा चौका हान्न राणाहरु भिडिरहेकै थिए । भरतशमसेरको गोर्खा दल नै खडा भइसकेको थियो । प्रधानमन्त्री मोहनशमशेर नेपाली कांग्रेस र बीपीसँग राणा शासन ढालेको रिस साँध्ने दाउमा थिए । उनले पनि बीपीको विरोधमा मानिसहरुलाई उचाले । अन्ततः बीपीले नै सुझबुझ देखाएर गृहमन्त्रीबाट राजीनामा दिए । भटाभट कांग्रेसबाट मन्त्रीमन्डलमा सहभागी सबैले राजीनामा दिन थाले । कुनै एक पक्ष मन्त्रीमन्डलबाट हटेपछि सरकार विघटन हुने सम्झौता भएकाले मोहनशमशेर प्रधानमन्त्रीबाट हटन बाध्य भए । सरकारबाट मोहनशमसेर हटेपछि बल्ल राणा शासनले पूर्ण रुपमा मुक्ति पाएको रामहरि जोशीको पुस्तक ‘अँध्यारो उज्यालो’ (सम्पादन कुसुम भट्टराई)मा उल्लेख छ ।

अन्तरिम संविधानले राजालाई प्रधानमन्त्री छनोटको स्वविवेकीय अधिकार दिएकाले अब कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा राजाको निगाहमा निर्भर देखियो । नेपाली कांग्रेसको एक पक्ष बीपी नेतृत्वमा र अर्को पक्ष सभापति मातृकाको नेतृत्वमा एकमना सरकार गठन गर्न चाहन्थे, तर अन्य दल भने सर्वदलीय सरकारको माग गरिरहेकाले राजालाई निर्णय गर्न हम्मेहम्मे परिरहेको थियो ।

यस्तैमा बीपीले राजा त्रिभुवनलाई भेटेर आफूले कांग्रेस नेतृत्वको सरकार बनाउन पाउनुपर्ने कुरा राखे । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु चाहिँ बीपीलाई मन पराउँदैन थिए ।

नेहरुले राजालाई पत्र नै लेखेर कुनै हालतमा बिपीलाई प्रधानमन्त्री नबनाउनु भनेका रहेछन् । यो कुरा रामहरी जोशीले खुलाएका छन् । विद्यार्थी संगठनको कार्यक्रममा सहयोग माग्न जाँदा राजा स्वयंले नेहरुको पत्र देखाएको उनको जिकिर छ ।

मातृकालाई राजाले प्रधानमन्त्रीका लागि पार्टीबाट औपचारिक प्रस्ताव गर्न भनेपछि उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाए । विशालनगर बैठकमा कृष्णप्रसाद भट्टराईले बीपीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, महावीरशमशेरले विरोध जनाउँदै मातृकालाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखे । गणेशमान सिंहको ‘मेरो कथाका पानाहरु’ पुस्तकमा उल्लेख भए अनुसार महावीरको राजा त्रिभुवनसँग राम्रो सम्बन्ध थियो । राजाकै निर्देशनमा उनले मातृकालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका हुन् ।

बीपीको आत्मवृत्तान्तमा पनि केन्द्रीय कार्यसमितिको सो बैठकबारे चर्चा छ । बीपीले लेखेका छन्, ‘हाम्रो वर्किङ कमिटी बस्यो । वर्किङ कमिटीमा महावीरशमशेर र एक–दुई जनाले जोरदार रुपमा ठूल्दाजु (मातृका)ले सरकार बनाउनुपर्छ भने । किशुनजी मलाई समर्थन गर्ने, सुवर्णजी मलाई समर्थन गर्ने र सूर्यप्रसादजी बीच–बीचको कुरा गर्ने । बहुमतले मलाई नै समर्थन गर्दथे भन्ने मलाइ लाग्दथ्यो। तर, त्यहाँ मतदान भएन ।’

विशालनगर बैठकमै सभापति मातृकाले भारतका प्रधानमन्त्री नेहरुले राजालाई पत्र नै लेखेर बीपीलाई प्रधानमन्त्री नबनाउन दबाब दिएको कुराको खुलासा गरे, जुन कुरा राजाले मातृकालाई सुनाएका थिए । विशालनगर बैठकले नेहरुको पत्रबारे बुझ्न तीन जना नेतालाई दरबारमा पठाउने निर्णय नै गरेको थियो । सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय र कृष्णप्रसाद भट्टराईले दरबारमा गएर व्यापक बुझेपछि त्यो खबर सही भएको सूचना पार्टीलाई गराएका थिए । नेहरु र राजा दुवैले बीपीलाई प्रधानमन्त्री बनाउन नचाहेको खुलेपछि नेपाली कांग्रेसले मातृकाकै नाम प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर दरबारमा पठाएको थियो ।

राजा त्रिभुवनले १ मंसीर २००८ मा मातृकालाई प्रधानमन्त्री नियुक्त गरे । सरकारमा कांग्रेसबाट सूर्यप्रसाद उपाध्याय, सुवर्णशमशेर, नादरमुनी थुलुङ, महेन्द«विक्रम शाह, भद्रकाली मिश्र, गणेशमान सिंह र महावीरशमशेर मन्त्री भए। यीमध्ये थुलुङ, शाह र महावीरशमशेर मातृका गुटबाट मन्त्री भए भने उपाध्याय, सुवर्णशमशेर, मिश्र र सिंह बीपी गुटबाट समावेश थिए । स्थापनाकालदेखि नै बीपीजस्ता महान नेतालाई प्रधानमन्त्री बन्न नदिन त्योबेला भारत, दरबारदेखि आफ्नै पार्टीभित्रका मानिसहरु सक्रिय थिए । त्यसपछि त झन बीपीलाई माथि उठ्न नदिन अनेक खालका चलखेलहरु हुँदै आए, जसलाई अर्को भागमा चर्चा गरिनेछ ।

काँग्रेस श्रृङ्खला :
– कलकत्ताको खाल्सा स्कुलमा यसरी जन्मिएको थियो नेपाली कांग्रेस !  भाग-१

– ‘राष्ट्रिय’ हटेर यसरी बन्यो ‘नेपाली कांग्रेस’-भाग २

(सम्पादकीय नोट : नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनको अवसरमा हिमालयपोष्टले नेपाली कांग्रेसको इतिहासको श्रृङ्खला सुरु गरेको छ । यो सामग्री हिमालय पोष्टको सम्पत्ति भएकाले अनुमति बिना प्रकाशन/प्रशारण गरिए कानुन बमोजिम कारबाहीको प्रक्रिया थालिने छ ।)