गण्डकी– थकाली युवा परिवार नेपालको प्रथम राष्ट्रिय भेला एवं व्यक्तित्व विकास प्रशिक्षण (ई.पि.एस.) पोखरामा हुने भएको छ । ‘धर्म र संस्कृति हाम्रो परम्परा, संरक्षण संवद्र्धनमा युवाहरूको अभिभारा’ भन्ने नाराका साथ यही पुष ७ देखि ११ गतेसम्म आयोजना गरिने आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।


ADVERTISEMENT


उक्त पाँचदिने भेला एवं ईपिएस कार्यक्रममा देशका १९ वटा क्षेत्रका करीब ६० जनाको सहभागिता रहने संस्थाका अध्यक्ष योगेन्द्र शेरचनले बताए । भेलाले थकाली समुदायबीच एकआपसमा भाइचारा बढाउनाका साथै युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष शेरचनका अनुसार थकाली युवालाई आफ्नो धर्म, संस्कार, वेषभुषा, भाषा र परम्परा जगेर्ना गर्न उत्प्रेरित गराउने उद्देश्यले ‘थकाली युवा अवसर, चुनौती र सम्भावना’ विषयक बहससमेत आयोजना गरिने छ । थकालीको मूल थलो थासाङबाट अन्यत्र बसाइँसराइ गरी देशका विभिन्न १९ क्षेत्रमा र विदेशका तीन स्थानमा थकाली सेवा समिति नामकसंगठित संस्था गठन भएको सचिव विक्कल शेरचनले जानकारी दिए ।

पोखरा थकाली समुदायको सुरूवाती बसाइँ सरेको स्थान भएको र हाल मुस्ताङको मौसमसमेत प्रतिकुल रहेका कारण त्यहाँ भेला गर्न सम्भव नरहेकाले प्रथम भेला पोखरामा नै आयोजना गर्ने तयारी भइरहेकोले बताए । भेलाको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गर्ने कार्यक्रम छ । रासस