कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–४ का रामदत्त भट्ट पेशाले मिठाइ बनाउने कारिगर हुन । उनी होटेलमा विभिन्न प्रकारका मिठाइ बनाउने कार्य गर्छन् । यस कार्यबाटै भट्ट परिवारको खर्च चल्ने गरेको छ । हाल उनको दिनचर्या फेरिएको छ । बिहानीपख होटलमा काम गर्छन् । दिउँसो र साँझ स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काममा व्यस्त छन् ।


ADVERTISEMENT


“श्रम गरी जीविका चलाउने व्यक्तिको जीवतस्तर जस्तो पहिला थियो । अहिले पनि त्यस्तै छ । यसमा कुनै परिवर्तन आउनसकेको छैन” उनले भने, “श्रम गर्ने व्यक्तिको जीवनस्तरमाथि उठाउने एजेण्डासहित वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएर निर्वाचनको प्रचारप्रसारका हिँडेको छु ।”


ADVERTISEMENT

# # #


गाउँका अधिकांश बासिन्दा श्रम गरेर जीविका चलाउने भएकाले सबैको भोट पाउनेमा विश्वस्त भएको उनी बताउँछन् । उनको चुनावी प्रचारको मुख्य नारा ‘पार्टीले जिते कार्यकर्ताको विकास, स्वतन्त्रले जिते गाउँको विकास’ रहेको छ । वडामा ठूलो समस्याका रुपमा सनबोरा नदीले गर्ने भू–क्षयको रहेको छ । चुनाव जितेमा पहिलो कार्यनै तटबन्ध निर्माण गर्ने रहेको उनी जोड दिँदै भन्छन्।

भट्टसँगै वडामा नेकपा(एमाले)बाट वडाध्यक्षका उम्मेदवारका रुपमा ज्ञानबहादुर विष्ट, संयुक्त गठबन्धनका तर्फबाट नेकपा (समाजवादी)का मिठ्ठु राना र नेपाली कांग्रेसका तर्फबाट कमल ठकुल्लाले उम्मेदवारी दिएका छन् । राजीनिक दलका वडाका उम्मेदवारले शिक्षा, स्वास्थ्य, रोजगार, खेलकूदसँग सम्बन्धित एजेण्डा अघि सारेका छन् ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट नगरको ११ वडाको अध्यक्षका उम्मेदवार जनक कुँवर ठेला चालक हुन् । झलारी बजारमा ठेला चलाएर उनले घरको गर्जो टार्ने कार्य गर्दै आएका छन् । उनी दैनिक ठेला रिक्सामा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बोक्ने कार्य गर्छन् । त्यसबाट पाइने ज्यालाले घरखर्च उनी चलाउँदै आउएका छन् ।

“श्रम गर्ने व्यक्तिले स्वाभिमानसँग बस्न र खान सक्ने वातावरण कायम हुनुपर्छ” उनले भने, “यिनै कुरा र जनजीविका सवाललाई जनता सामु राखेर भोट माग्नका लागि घर दैलोमा जान थालेको छु ।” मतदाताले श्रम गर्ने व्यक्तिका रुपमा बुझेकाले मतदान गरी विजयी बनाउने उनको भनाइ छ । उनीसँगै वडामा नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर साउद, नेकपा (एमाले)का तर्फबाट भक्तराज जोशी र संयुक्त गठबन्धनका तर्फबाट दिलबहादुर बुढा उम्मेदवार छन् ।

नगर प्रमुखमा प्रमुख दलका उम्मेदवारसमेत नौला एजेण्डासहित भोट माग्न घर दैलो गर्नमा व्यस्त देखिन्छन् । नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखको उम्मेदवार चिन्तामणि भट्टले नगरभित्रका ३२ वटै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था, नागरिक आरोग्य केन्द्र स्थापना र गाउँनगर फार्मेसी स्थापना गर्नेलगायतका एजेण्डा अघि सारेका छन् ।

एमालेका नगर प्रमुखको उम्मेदवार रणबहादुर महराले अति विपन्न तथा गरिब परिवारलाई निःशुल्क नून वितरण गर्ने एजेण्डालाई प्राथमिकता दिएका छन् । यससँगै उनले अघि सारेका एजेण्डामा एक वडा एक ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना, बाल उद्यान, खेलमैदान, नगर बस पार्क, शीत भण्डार स्थापना गर्नेलगायतका विषयलाई चुनावी प्रचारमा समेटेका छन् ।

गबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार नवराज ऐरले वृद्ध असक्त, जनयुद्ध र जनआन्दोलनका घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने, आयुर्वेद, योग र प्राकृतिक चिकित्सा प्रणालीलाई बढावा दिने, स्वास्थ्य पूर्वाधारको विकास गर्नेलगायतका एजेण्डा सार्वजनिक गरेका छन् । कृषि उत्पादनलाई बढावा दिन उन्नत बीऊ बिजन, उन्नत पशुपालनका लागि योजनाबद्ध रुपमा कार्य अगाडि बढाउने, वैज्ञानिक भूमि व्यवस्थापन र भू–उपयोगको नीति तर्जुमा, सूचना र सञ्चारलाई नागरिकको पहुँचमा पुर्याउन आवश्यकता अनुसार टेलिभिजन, एफएम तथा पत्रपत्रिका, अनलाइन सञ्चालकलाई प्रोत्साहन गर्ने उनको प्रतिबद्धता रहेको छ ।

राप्रपाका तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका जीत सिंह भण्डारीले भने चुनावी मुद्दाका रुपमा हिन्दुत्व र राष्ट्रियतालाई जोडतोडका साथ उठाएका छन् । चुनावी मैदानमा रहेका अधिकांश उम्मेदवारले सडक, सञ्चार, शिक्षा, खेलकूद, कृषि, स्वास्थ्य, यातायात र रोजगारीलाई प्राथमिकतामा राखेर चुनावी मुद्दा बनाई प्रचारप्रसारमा जुटेका छन् ।

“धेरै उम्मेदवारका पुरानै चुनावी मुद्दा रहेका छन्” राजनीतिक विश्लेषक शेरबहादुर भण्डारीले भने, “नगर प्रमुखका युवा उम्मेदवारले सारेका मुद्दा मात्रै नौला रहेका छन् । ती मुद्दा अहिले जनता माझ निकै लोकप्रिय बनेका छन् । युवाहरुले सबैभन्दा बढी रुचाएका पनि छन् ।” नगरमा १२ वटा मतदानस्थल रहेका छन् । नगरपालिकामा जम्मा ३१ हजार ४४८ मतदाता रहेका छन् ।

नगरपालिकामा आदीवासी जनजाती डगौरा, चौधरी, राना थारु, दलित, ब्राम्हण, क्षेत्रीलगायतको बसोबास रहेको छ । थारु र पहाडी समीकरण जोडन सक्नेनै निर्वाचनमा विजय हुने भण्डारीको तर्क छ । क्षेत्रीयताको नारा निकै जोडतोडले उठेकाले सबै समीकरण मिलाउन सक्ने उम्मेदवार विजयी हुने उनी बताउँछन् ।