काठमाडौं – स्थानीय तहको निर्वाचन सकिएको दिनदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ । यही जेठ १ गतेदेखि हप्तामा २ दिन बिदा दिने निर्णय लागू हुँदैछ । हप्तामा दुई दिन बिदा दिन सरकारले राजपत्रमा सूचना समेत प्रकाशन गरीसकेको छ ।


ADVERTISEMENT


हप्तामा २ दिन बिदा दिने निर्णय जेठको प्रारम्भ देखि नै लागु हुने भएको छ । जेठ १ गते आइतबार परेको छ । त्यसैले यस दिन सरकारी कर्मचारीहरू कार्यालय जानु पर्दैन । जेठ २ गते सोमबार बुद्ध जयन्तीको दिन सरकारले त्यसै पनि सार्वजनिक बिदा घोषणा गरेको छ ।


ADVERTISEMENT

# # #


बुद्ध जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले पहिले नै गरेको हो । शुक्रबार स्थानीय तहको निर्वाचन भएकोले सरकारले बिदा दिएको हो । शुक्रबारदेखि सोमबारसम्म लगातार ४ दिन सरकारी कर्मचारीहरुले बिदाको सुविधा प्रयोग गर्न पाएका छन् ।

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको सार्वजनिक बिदामा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले अरु ६ दिन थप बिदा घोषणा गरेको छ । यसमा देउवा सरकारले हप्तामा २ दिन थप बिदा सुविधा दिएको छ ।

२०७९ सालमा विभिन्न भुगोल, जात र सम्प्रदायलाई दिइने बिदासमेत जोडेर कुल ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

सबै जातजाति, सम्प्रदाय, धर्मलाई समान रुपमा दिइने बिदा भने ३२ दिन रहेको छ । शनिबार र आइतबारमात्र जोड्दा वर्षमा १ सय ४ दिन सार्वजनिक बिदा पर्छ ।

यस बाहेक सरकारी कर्मचारीहरुको लागि अन्य विभिन्न शीर्षकमा बिदा सुविधा दिइएको छ । सरकारी कर्मचारीहरुले घर बिदा ३० दिन, बिरामी बिदा १२ दिन तथा पर्व बिदा १२ दिन सुविधा पाउँछन् ।

प्रशासन विज्ञहरूले नेपालमा दिइने सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्न सरकारलाई सुझाव दिएका छन् । यता सरकारले भने सार्वजनिक खर्च र इन्धनमा कटौती गर्न भन्दै सार्वजनिक बिदाको संख्या बढाएको हो । नेपाल आयल निगमले हप्तामा २ दिन बिदा दिएमा इन्धन खर्च जोगिने सुझाव सरकारलाई दिएको थियो । निगमको सुझावअनुसार सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेको हो ।

तर के उनीहरुले सरकारी सुविधाका सवारी प्रयोग नगरी कार्यालयमै रहन्छन् वा लगातार दुई दिन बिदा भएपछि झन् घुमघाममा इन्धन खर्च गर्छन् रु यसबारे भने निगमले बोलेको छैन ।

त्यसो त नेपालमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू भएको यो पहिलो पटक भने होइन । यसअघि २०५६ सालमा पनि नेपालमा २ दिन सार्वजनिक बिदा दिइएको थियो । तर त्यो निर्णय धेरै समय टिक्न सकेन । करिब ६ महिनापछि नै हप्तामा २ दिन बिदा दिने निर्णयबाट सरकार पछि हटेको थियो ।

योगेश भट्टराई पर्यटन मन्त्री भएको बेला हप्तामा २ दिन बिदा दिने विषयमा अध्ययन गर्न उनले एउटा कार्यदल गठन गरेका थिए ।

कार्यदलले हप्तामा २ दिन बिदा दिएमा आन्तरिक पर्यटन बढ्ने रायसहित २ दिन बिदा दिन सरकारलाई सुझाव दिएको थियो ।

तर भट्टराईले उक्त प्रतिबेदन मन्त्रिपरिषद्सम्म लगेनन् । मन्त्रिपरिषद्मा प्रतिवेदन लैजानुअघि नै यसको विरोध भएपछि भट्टराई पछि हटेका थिए ।