काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले  प्रहरीको सरुवा बढुवालाई पारदर्शी र गैर राजनीतिक बनाइने बताएका छन् ।


ADVERTISEMENT


महानिरीक्षक सिंहले प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा  सरुवा-बढुवामा राजनीनिक प्रभाव रोकिने बताएका हुन्।


ADVERTISEMENT

# # #


सिंहले विगतको प्रहरी नेतृत्वले कतिपय जिल्लामा कमजोर कार्यसम्पादन भएका प्रहरी नेतृत्व खटाएका कारण शान्ति सुरक्षा प्रभावकारी बन्न नसककेको धारणा व्यक्त गरे।

‘अब त्यसो हुँदैन, कार्यसम्पादन तथा कुशल नेतृत्व गर्न सक्ने प्रहरी अधिकारीलाई मात्र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा खटाइनेछ,’ उनले भने। उनले प्रहरीको बढुवा पनि थप पारदर्शी तथा उत्कृष्टताका आधारमा हुने बताए।

प्रहरीको सरुवा बढुवामा राजनीतिक तहबाट हस्तक्षेप हुने गरेकोबारे सञ्चारकर्मीको जिज्ञासामा महानिरीक्षक सिंहले बाहिर हल्ला भएजस्तो राजनीतिक प्रभाव आफूले महसुस नगरेको बताउँदै त्यस्ता क्रियाकलापलाई निरुत्साहित गरिने उल्लेख गरे।

प्रहरी प्रधान कार्यालयले राजनीतिक प्रभावमा सरुवा बढुवा हुन खोज्ने प्रहरीको विवरण सङ्कलन गर्न लागेको समेत महानिरीक्षक सिंहले जानकारी दिए।

उनले सरुवा बढुवामा समान ब्याचमेट (भर्ना समूह) भित्रबाट उत्कृष्टतालाई आधार मानेर गरिने समेत जानकारी दिए।

महानिरीक्षक सिंहले प्रहरी नेतृत्व परिवर्तन हुनेबित्तिकै प्राथमिकता परिवर्तन नहुने बताउँदै प्रहरी संगठनका मुख्य जिम्मेवारीअन्तर्गत शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा मानव अधिकारको रक्षालगायतका प्राथकितालाई आफ्नो कार्यकालमा प्रभावकारी रुपमा लागू गर्ने बताए।

महानिरीक्षक सिंहले लामो समयदेखि अनुसन्धान गरिरहेको निर्मला पन्त हत्या प्रकरणलगायतका हाई प्रोफाइल अपराधका घटनाको अनुसन्धान टुङ्गो लगाउन प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरिसकेको समेत जानकारी दिए।

प्रहरी प्रधान कार्यालयले गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा केही छिटफुटका घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न गरेको जनाएको छ। विगतमा विद्रोही राजनीतिक शक्तिहरु शान्तिपूर्ण रुपमा स्थानीय तह निर्वाचनमा सहभागि रहेकाले शान्ति सुरक्षा प्रभावकारी बन्न सकेको प्रहरीको निष्कर्ष छ।

योसँगै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालबीचको सहकार्य तथा समन्वयका कारण २०५१ सालपछि पहिलो पटक एकै चरणमा निर्वाचन सम्पन्न हुन सकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।