काठमाडौं – नेकपा एमालेकी सांसद नविना लामाले सरकारले ल्याएको बजेट जनतालाई झुक्याउने झुटको पुलिन्दामात्रै भएको बताएकी छन्।


ADVERTISEMENT


बजेटमाथि संसदमा भइरहेको छलफलमा उनले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट सुन्दा आकर्षक भए पनि कार्यान्वयन गर्न नसकिने आश्वासनको पोकोमात्रै भएको बताइन्।


ADVERTISEMENT

# # #


‘सरकारले ल्याएको बजेट चुनाव अगाडि जनतालाई झुक्याउने झुटको पुलिन्दा मात्रै हो। यो बजेटमा जति नारा दिइएको छ, कार्यान्वयनमा धेरै कठिन छ। सरकारको प्रशासकीय क्षमता र व्यवस्थापकीय आधारमा बजेट सफलतापूर्वक कार्यान्वयन चुनौतिपूर्ण छ,’ उनले भनिन्।

उनले कोरोनाले लथालिङ्ग भएको अर्थतन्त्रमा युक्रेन-रुसको कारण थप समस्या सिर्जना भएको बताइन्। लामाले भनिन्, ‘यस्तो अवस्थामा ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान र ७ प्रतिशतले मूल्य वृद्धिदर सीमित गर्ने दाबी हावादारी गफमात्रै हो।’

यो बजेट समस्यारहित अवस्थामा पनि कार्यान्वयन हुन नसक्ने अर्थशास्त्रीहरुको दाबी रहेको लामाको भनाइ छ। ‘अर्थशास्त्रीहरु मूल्यवृद्धि १५ प्रतिशतमाथि जाने निश्चितजस्तै छ भन्नुहुन्छ। अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्न यो बजेटले सक्दैन,’ उनल थपिन्।

बजेटमा महँगी नियन्त्रण गर्न कुनै प्रस्ताव नआएको बताइन्। लामाले भनिन्, ‘सरकारले दैनिक उपभोग्य बस्तुहरुको भन्सार बढाएको छ। बजेटले किसानलगायत जनताको ढाड सेकेको छ। कर्मचारी, सांसदहरुको त जेनतेन होला गरिबीको रेखामुनी पिल्सिएका जनताको जीवन कष्ठकर, महँगी हुनेछ भन्ने यो बजेटले देखाउँछ।’

किसानले खेतबारीमा हाल्ने रासायनिक मलसम्म दिन नसक्ने सरकारले कृषि उत्पादन कसरी बढाउन सक्छ भन्दै सरकारलाई प्रश्न गरिन्। यो बजेटले शिक्षामा वर्ग विभेद् जन्माएको बताइन्।