वालिङ – स्याङ्जाको गल्याङ नगरपालिकाले दूधको उत्पादनका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै पाँच लाख ७९ हजार ९३४ लिटर दूधमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।


ADVERTISEMENT


गल्याङ नगरपालिकाभित्रका विभिन्न दूग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दूग्ध विकास संस्थानले निर्धारण गरेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई उत्पादनका आधारमा प्रोत्साहनस्वरूप प्रतिलिटर रु १५ उपलब्ध गराउने निर्णयानुसार गत आवमा सो बराबरको रकम दिइएको उनले बताए।


ADVERTISEMENT

# # #


“सामूहिक वा व्यक्तिगतरूपमा दूध उत्पादन गर्नतर्फ किसानलाई आकर्षित गराउनका लागि प्रोत्साहनस्वरूप प्रतिलिटर दूधमा रु १५ अनुदानको व्यवस्था गरेका छौँ”, उनले भने, “उत्पादित दूध तथा दूग्धजन्य पदार्थको बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिनेछ, उत्पादित दूध बिक्री हुँदैन कि भन्ने चिन्ता नलिनुहोस् ।”

नगरपालिकाले चालु आव २०७९र०८० का लागि पनि दूध उत्पादनका आधारमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै रु एक करोड विनियोजन गरेको उनले बताए । नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराउँदै आएको नगरउपप्रमुख हेमा न्यौपानेले बताइन् । दूध उत्पादन तथा दूग्धजन्य पदार्थको उत्पादनमा जोड दिइएको र उत्पादित दूध तथा दूग्धजन्य पदार्थको बिक्री वितरणको जिम्मा नगरपालिकाले लिएकाले पनि यहाँका पशुपालक किसान उत्साहित भएर अगाडि बढ्नुभएको उपप्रमुख न्यौपानेको भनाइ थियो ।

किसानले अनुदान प्राप्त गर्ने र बजारीकरणको समस्या नभएपछि उत्पादन वृद्धि गर्नतर्फ लागेको उपप्रमुख न्यौपानेले जानकारी दिए । गल्याङ नगरपालिकाका विभिन्न १८ दूग्ध सङ्कलन केन्द्रमा आबद्ध एक हजार ३३ किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले अनुदान रकम उपलब्ध गराएको पशु शाखा प्रमुख सुशील अर्यालले जानकारी दिए ।

यहाँका किसानले उत्पादन गरेको दूधमध्ये ४७ हजार ७५० लिटर दूध स्थानीय बजारमै खपत भएको छ । स्थानीय बजारमा खपत भएर बाँकी रहेको पाँच लाख ३२ हजार १८४ लिटर दूध जिल्लाबाहिर बुटवल दूग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा बिक्री भएको शाखा प्रमुख अर्यालले बताए ।

“किसानले उत्पादन गरेको दूध आफूलाई पायक पर्ने जुन सङ्कलन केन्द्रमा ल्याउनु हुन्छ सोही केन्द्रमार्फत चार पटक अनुदान रकम भुक्तानी गरेका हौँ”, शाखा प्रमुख अर्यालले भने, “नगरपालिकाले दूधमा अनुदानसँगै पशुपालन गर्ने व्यावसायिक किसानका लागि ब्याजमा चार प्रतिशत अनुदान, निःशुल्क पशु बीमा, निःशुल्क घाँसको बीउ वितरण गर्नुका साथै महामारीजन्य रोगका विरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्दै आएका छौँ ।”

नगरपालिकाले उपलब्ध गराएको अनुदानतर्फ बढी दूध बिक्री गर्नेमा फर्मतर्फ विन्दवासिनी दूग्ध उत्पादक फर्म र व्यक्तिगतरूपमा नरमाया गुरुङ रहरेका छन् । एकातिर दूधको उचित मूल्य पाइने र अर्कोतिर उत्पादित दूधको बजारीकरणको कुनै समस्या नभएपछि पशुपालनमा उत्साह थपिएको व्यावसायिक पशुपालक किसान रनमाया गुरुङले बताए। “अनुदान रकमले व्यवसायप्रति थप हौसला र उत्प्रेरणा जगाएको छ, यो पेशाबाट निक्कै खुसी र सन्तुष्ट पनि छु ।”

किसानलाई थप व्यावसायिक बनाउँदै आत्मनिर्भरतर्फ अगाडि बढाउनका लागि टेवा पुग्ने विश्वास विन्दवासिनी दूग्ध उत्पादक फर्मका सञ्चालक दूग्ध व्यवसायी ईश्वर बस्यालको छ । रासस