काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेका छन् ।


ADVERTISEMENT


मन्त्री कुँवरले आइतबार निर्देशिका सामाजिक सुरक्षा कोषले तयार पारेको उक्त निर्देशिका स्वीकृत गरेका हुन् । उक्त निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने लगायतका व्यवस्था रहेका छन् । जस अनुसार कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधिको आधारमा अवकाश हुन कम्तिमा २ वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिने छ ।


ADVERTISEMENT

# # #


घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुने निर्देशिकामा उल्लेख छ । त्यसका लागि ३ प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी दिइने छ । त्यसमध्ये पहिलो विधिअनुसार, धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधीको तलब रहेका छन् ।

त्यस्तै, योगदानकर्ता शैक्षिक सापटीको व्यवस्था उक्त निर्देशिकाले गरेको छ । कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तिमा २ वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । त्यस्तो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ ।

त्यस्तो रकम ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने छ । विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, होस्टेल वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामाग्री खर्च, ट्राभल तथा बीमा खर्च उक्त सापटीमा रहने प्रावधान निर्देशिकामा उल्ल्ेख छ । योगदानकर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः प्रदान गर्न सकिनेछ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले यही महिनादेखि सामाजिक सुरक्षा कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रवाह प्रारम्भ गरिने जानकारी दिए ।