काठमाडौं-माघे संक्रान्तिका लागि वनतरुल खन्न जंगल गएका २ जनाको डढेलोमा परेर मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका ३, को लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउँपालिका–७, का ४० वर्षीय श्यामबहादुर बोहरा र ४५ वर्षीय केशरमान मल्लको मृत्यु भएको हो ।


ADVERTISEMENT


उनीहरू माघ १ गतेको माघे संक्रान्तिका लागि जंगलमापाइने वनतरुल खन्न गएका थिए । माघी मनाउनलाई वनतरुल अनिवार्य जस्तै मानिन्छ ।


ADVERTISEMENT

# # #


डढेलो लागेको जंगलमा हावाहुरी चलेपछि गत शनिबार उनीहरू ओढारमै फसेको र डढेलोमा परेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । बोहरा र मल्लको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का स्थानीय शेरबहादुर बोहरा गम्भीर घाइते छन् । घाइते बोहराको काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलबाट घाइतेलाई उद्धार गरेर नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो । दुर्गम भएका कारण ढिलो खबर आएको प्रजिअ सापकोटाले जानकारी दिए । ‘२ जनाको ज्यान गएको र १ जना घाइते भएको प्रारम्भिक खबर आएको छ,’ प्रजिअ सापकोटाले भने, ‘यो ठाउँ जिल्लाको दुर्गम हो, विस्तृत विवरण अझै आइसकेको छैन ।’