सृजना मगर, काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले लिएको गत वैशाखमा सञ्चालित स्नातक तह प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य (४२२) र शिक्षाको आधार विषय (४१२) को परीक्षा नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन ।


ADVERTISEMENT


परीक्षा लिएको झण्डै एक वर्ष बितिसक्दा त्रिविले सो परीक्षाको उत्तरपुस्तिका नै हराएको खुलासा गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट परीक्षण भइसके पनि सो उत्तरपुस्तिकाहरु हराएको खुलेको हो ।


ADVERTISEMENT

# # #


‘परीक्षा सकिएर देशभरबाट उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ल्याइयो, त्यसपछि परीक्षण भएर पनि फिर्ता आएको देखिन्छ, सम्परीक्षण गर्ने बेलामा चाहिँ उत्तरपुस्तिका भेटिएन,’ त्रिविका एक कर्मचारी भन्छन्, ‘जनसंख्या विषयको एक पोका उत्तरपुस्तिका नै हराएको छ । उक्त उत्तरपुस्तिकाको खोजी भइरहेको उनको भनाई छ ।

उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको ती कर्मचारी बताउँछन् । यस सम्बन्धमा त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले नै पनि प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा पुनः परीक्षा लिइने उल्लेख गरेको छ।

‘यही चैत २१ गते तत् तत् विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना प्रकाशित भइसकेका छन्,’ त्रिविले निकालेको विज्ञप्तिमा लेखिएको छ।

यसअघि पनि पटक–पटक हराएको थियो उत्तरपुस्तिका

त्रिविले लिएको परीक्षार्थीको उत्तरपुस्तिका हराएको यो पहिलो पटक होइन । त्रिविमा यसअघि पनि पटक–पटक उत्तरपुस्तिका हराउने कार्य भइरहेको यसअघिका घटनाहरुले पनि पुष्टि गर्छ ।

गत वर्ष मात्रै पनि बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका फेला नपरेपछि त्रिविले विद्यार्थीको पुनः परीक्षा लिइएको थियो । २०७८ पुसमा सञ्चालित परीक्षाको उत्तरपुस्तिका हराएका कारण वर्ष दिनपछि २०७९ पुसमा करिब साढे २ सय विद्यार्थीको पुनः परीक्षा लिइएको थियो ।

त्यसताका पुनः परीक्षा लिनुपर्ने कारण भने पनिकाले खुलाएको थिएन । त्यतिबेला झापाको दमक बहुमुखी क्याम्पसका परीक्षार्थीको उत्तरपुस्तिका हराएको थियो । उनीहरूको पुनः परीक्षा लिएर नतिजा सार्वजनिक गरिएको हो । अध्यापकको लापरबाहीका कारण उत्तरपुस्तिका हराएको भए पनि कारबाही नगरी उन्मुक्ति दिइएको थियो ।

त्यसअघि पनि २०७४ सालमा पब्लिक युथ क्याम्पसका एमविएस प्रथम वर्षको एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराएको थियो । त्यसबेला पनिका घटना लुकाउन खोजेपनि परीक्षामा सम्मलित ३ सय परीक्षार्थीमध्ये १ सय ९५ को परीक्षामा अनुपस्थित आएपछि सो रहस्यमाथि उजागर भएको थियो ।

घटनालाई परीक्षा नियन्त्रण कार्यालयले सुरुमा गोप्य राखेर परीक्षार्थीलाई परीक्षामा हाजिर नगरेका कारण अनुपस्थित आएको र फेरि परीक्षा दिनुपर्ने बताएपछि क्याम्पसले परीक्षा केन्द्र रहेको बसुन्धारा स्थित साउथ वेस्टर्न स्टेट कलेजमा गएर विद्यार्थीको हाजिरको प्रतिलिपि पेस गरेको थियो।हाजिरीको प्रतिलिपि पेस गर्दै नतिजा प्रकाशन गरिदिन कार्यालयलाई दबाब दिएपछि मात्र उत्तरपुस्तिका हराएको पनिकाले पुष्टि गरेको थियो ।

यता विद्यार्थीहरु आफूले मिहिनत गरेर दिएको परीक्षाको उत्तरपुस्तिका पनिकाले हराएपनि त्यसको सजाय भने परीक्षार्थीले नै बोक्नु परेको गुनासो गर्छन् । ‘त्रिवि पनिकाले एउटै घटना बारम्बार दोहोर्‍याउँछ अनि त्यसले सास्ती चाहिँ विद्यार्थीले भोग्नुपर्ने ?’, एक विद्यार्थीले भने, ‘उसै त लामो समयसम्म नतिाजा नआउँदा अलमल परिरहेको अवस्थामा अन्तिम समयमा उत्तरप्स्तिका हरायो फेरि परीक्षा दिनुपर्ने निर्णय सुन्दा झन् प्रेसर थपेको छ ।’

उत्तरपुस्तिका हराउने घटनाले पनिकाको चरम लापरवाही र गैरजिम्मेवार गतिविधिको प्रष्ट चित्रण गर्ने विद्यार्थीहरुको भनाई छ । त्रिविकै कर्मचारीको गल्तीमा विद्यार्थालाई पुनः परीक्षाको भार बोकाउन नहुने उनीहरु बताउँछन् ।

घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

उत्तरपुस्तिका हराउने घटनाले छानबिन गर्न एक उच्चस्तरीय समिति गठन भएको छ । आज त्रिविको रजिष्ट्रार कार्यालयले जारी विज्ञप्तिमा पूर्व रजिष्ट्रार प्रा.डा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय समित गठन भएको विज्ञप्तिमा उल्लेख छ ।

समितिले घटना के कसरी भएको हो ? भन्ने विषयमा आवश्यक अनुसन्धान गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने बताइएको छ ।