काठमाडौँ – भारतको गुजरातस्थित भापीमा आजदेखि सुरु भएको एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आइतबार पहिलो खेलमा भारतको गुजरातको प्रदेशस्तरीय टोलीलेलाई ८ विकेटले हराएको हो ।


ADVERTISEMENT


आइतबार भापीस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमै समेटियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि अनिल शाहले सर्वाधिक नटआउट ३२ रन बनाए भने कप्तान रोहित पौडेलले नटआउट २९ रन जोडे । उनीहरुले तेस्रो विकेटका लागि नटाउट ६५ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । यस्तै कुशल भुर्तेल १७ र आशिफ शेख १६ रनमा आउट भए । बलिङतर्फ गुजरातका तेजस पटेल र हेमंग पटेलले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ गुजरातका लागि रुद्र पटेलले सर्वाधिक २३ रन हाने । यस्तै हेमङ्ग पटेलले २०, सरल प्रजापतिले १७ तथा अभिषेक देशाईले ११ र स्मित पटेलले १० रन जोडे ।

गुजरातलाई सस्तैमा समेट्नेक्रममा बलिङतर्फ नेपालका गुल्शन झाले ४ ओभरमा २२ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै करण केसीले ३.२ ओभरमा २२ रन खर्चिएर ३ तथा सोमपाल कामीले १ विकेट हात पारे । नेपालले मंगलबार बरोडा क्रिकेट टोलीसँग खेल्नेछ ।

फ्रेन्डसिप कपमा नेपालसहित गुजरातको प्रदेश टोली, बरोडा क्रिकेट एशोसिएशनको टोली भिड्दैछन् । भारतका यी दुई टोली भारतको प्रतिष्ठित घरेलू प्रतियोगिता रणजी ट्रफी खेल्ने टोली हुन् । प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछन् । उत्कृष्ट २ टोलीले फाइनल खेल्नेछन् ।

नेपालले यस प्रतियोगितालाई अप्रिल दोस्रो सातादेखि ओमानमा सुरु हुने एसीसी ट्रफी प्रतियोगिता र आगामी जुनदेखि अमेरिका वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपको तयारीका रुपमा लिएको छ ।