काठमाडौँ – एशिया कप छनोटका रुपमा आजदेखि ओमानमा सुरु भएको एसीसी प्रियमर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । साबिक विजेता नेपाललले शुक्रबार प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले २४ बलमा १ छक्कासहित २८ र कुशल भुर्तेलले २४ बलमा ३ चौकाको मदतमा २४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ चौका र १ छक्काको मदतमा २० रन जोडे ।

यस्तै गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ७ बलमा २ छक्का र १ चौका प्रहर गर्दै नटआउट १७ रन बनाए भने सन्दीप जोराले ९ बलमा नटआउट १२ रनको योगदान दिए । बलिङतर्फ मलेसियाका कप्तान भिरन्दीप सिंहले शानदार बलिङ गरे । उनले ४ ओभरमा ३५ रन दिएर ३ विकेट लिए । यस्तै पवनदीप सिंह र माहम्मद वाकिफले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ मलेसियाका लागि भिरन्दीप सिंहले कप्तानी पारी खेले । उनले ५७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ७२ रन बनाए ।

यस्तै सभिर्मन मुनियान्दीले ३३ बलमा ३ चौका र २ छक्काको मदतमा ४१ रन बनाए । बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा मात्र १४ रन खर्चिए । यस्तै अविनाश बोहराका नाममा १ विकेट रह्यो ।

यसअघि आजै भएका खेलमा युएईले कुवेतलाई ७ विकेटले हराएको छ भने आयोजक ओमानले बहराइनलाई ३ विकेटले स्तब्ध पार्यो । नेपालले प्रतियोगिताको दोस्रो खेल भोलि कतारसँग खेल्नेछ । खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।

एसीसी प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ हङकङ, कतार, मलेसिया र साउदी अरब समेत रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक ओमानसहित युएई, बहराइन, कुवेत र कम्बोडिया रहेका छन् ।

विजेता टोली अर्को वर्ष हुने टी–२० एशिया कपका लागि छनोट हुनेछ । यसअघिको विजेता नेपालले उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक एशिया कपमा पुग्ने लक्ष्य राखेको छ ।