काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट आम जनतामा आशा जगाउने गरी आएको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको भन्दै आम जनतामा आशा जगाउने गरी बजेट आएको बताएका हुन् । उनले देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृति बढेको भन्दै सजिलै विदेशको बाटो रोज्ने भन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको बताए ।
उनले निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उल्लेख गरे । अर्थमन्त्री पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको भन्दै नेपालको भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको जानकारी दिए ।
अर्थमन्त्री पुनले निजी क्षेत्रसँग मिलेर नै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले त्यही अनुसारको बजेट बनाइएको बताए । प्रदेशगत रूपमा पनि आर्थिक क्षेत्रको पहिचान गरिएको भन्दै कोसी प्रदेशलाई उद्योग हबको रूपमा विकास गर्ने र काठमाडौंलाई आइटी हबको रूपमा विकास गरिने तथा गण्डकीलाई पर्यटन क्षेत्रको रुपमा तयारी गरिएको जानकारी दिए । अर्थमन्त्री पुनले करका दर परिवर्तन गर्दा कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौँ भन्ने प्रतिबद्धताका साथ आवश्यकता र औचित्यका आधारमा हेरफेर भएको बताए ।
अर्थमन्त्री पुनले समस्यामा परेका सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको भन्दै यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने बताए । केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको भन्दै सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम भएको धारणा राखे । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने भन्दै आम सहकारीका बचतकर्ता चिन्तित हुनु नपर्ने बताए ।