काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय हुने जनाएको छ ।


ADVERTISEMENT


बिहिबार साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ ।


ADVERTISEMENT

# # #


केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आजदेखि देशैभर मौसम बदली भई, हल्कादेखि मध्यम वर्षा हुने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार मनसुनी वायुको प्रभावले आजदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आज शुक्रबारदेखि आइतबारसम्म मेघगर्जनरचट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । महाशाखाले दैनिकरुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन नियमित हेर्न अनुरोध गरेको छ ।