काठमाडौँ – नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । ‘दक्षिणपन्थी अवसरवादको विरोध गर्रौ, समाजवादको दिशामा अगाडी बढौं’ भन्ने नाराका साथ सुरु भएको महाधिवेशनको पार्टी अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


सो क्रममा अध्यक्ष नेपालले देश र जनताको आशा अपेक्षालाई पुरा गर्नका लागि दलहरु गम्भीर हुनुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरु धेरै भएपनि आत्तिनुपर्ने अवस्था नरहेको भन्दै अव एकजुट हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


समाजवादी मोर्चामा केही समस्या देखिएपनि यसलाई नै सक्रिय गराएर एक हुनुपर्ने र प्रमुख नेताहरु जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । उनले नेपालको कम्युनिष्ट पार्टीमा आफ्नो पार्टीले नै नेतृत्व लिएर समाजवादी क्रान्तिको कार्यक्रमलाई अघि सारेको भन्दै यसलाई अन्य कम्युनिष्ट पार्टीबीच छलफल गर्न सकिने उल्लेख गरे ।

अध्यक्ष नेपालले विद्रोह नगरेको भए आफूहरु पलायन वा आत्मसमर्पण गर्ने अवस्था आउने उल्लेख गरे । उनले हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्न प्रधानमन्त्रीलाइ सुझाव दिए । तर, अहिले संख्याका हिसावले पनि कसैले संसद बिघटन गर्ने अवस्था आउन नसक्ने उनको भनाइ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बिद्रोहबाट जन्मिएको पार्टीले वैज्ञानिक समाजवादीको कार्यक्रम अघि सारेको बताए । उनले अहिलेको महाधिवेशन ऐतिहासिक हुने जिकिर गरे । उनले आगामी दिनमा आफ्नो पार्टीको विकास र विस्तार तीव्र ढंगले हुने भन्दै मैत्रीपूर्ण प्रतिष्पर्धा गर्न अन्य दलहरुलाई आग्रह गरे ।

नयाँ नेतृत्व समेत चयन हुने महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी रहेको समाजवादीले जनाएको छ । एकीकृत समाजवादीले महाधिवेशनमार्फत निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरिएको छ ।

समाजवादीले एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरुले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ । अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने, उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्ने समाजवादीले जनाएको छ ।