तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइईं) को ग्रेडवृद्धिका लागि आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


गाउँपालिकाअन्तर्गतका विद्यालयबाट एसइईमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेडवृद्धिमा सहभागी हुन पालिकाले आवासीय सुविधासहितको तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


आजदेखि रामशाह मावि र मित्रता माविमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसका लागि शिक्षकहरूले सकेको सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गाउँपालिकाअन्तर्गतका दश विद्यालयमध्ये दुई विद्यालयको नतिजा शून्य छ । छिम्केश्वरी मावि र कन्यादेवी माविका सबै विद्यार्थी एसइईमा अनुत्तीर्ण भएका छन् । छिम्केश्वरीका १४ र कन्यादेवीका १९ विद्यार्थी परीक्षामा अनुत्तीर्ण छन् ।

कुल चार सय ३३ विद्यार्थीमध्ये ३.६–४ जिपिए ल्याउने १६, ३.२–३.६ जिपिए ल्याउने ४५, २.८–३.२ जिपिए ल्याउने ५२, २.४–२.८ जिपिए ल्याउने ३६ र २.०–२.४ जिपिए ल्याउने दुई विद्यार्थी छन् ।

अध्यक्ष चुमानले एसइईको नतिजाले जनप्रतिनिधि, विद्यालय प्रशासन र विषय शिक्षक फेल भएको बताए। उनले भने, ‘यो वर्षको माध्यमिक शिक्षा परीक्षामा आँबुखैरेनी गाउँपालिका नराम्रोसँग फेल भएको छ ।

यो नतिजाको अनुत्तीर्णमा बच्चाहरूको नाम देखिए पनि खास फेलचाहिँ हामी सरकारमा बसेर जिम्मेवारी लिने ठूला मान्छे पल्टिएकाहरू, केही हदसम्म विद्यालय प्रशासन र विषय शिक्षक भएको जस्तो लाग्छ ।’