काठमाडौँ– नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ ।


ADVERTISEMENT


बालुवाटारमा बसेको पदाधिकारी बैठकले एमालेले समीकरण बदलेर कांग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डसँग सोमबार लामो समय छलफल गर्दा एउटा कुरा र पछि कांग्रेससँग अर्को कुरा गरेको माओवादी केन्द्रको भनाइ छ । एमाले र कांग्रेसमात्र बसेर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर आह्वान गर्नु नै नमिल्दो कुरा भएको माओवादीको निष्कर्ष छ ।

बैठकले पछिल्लो परिस्थितिको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । उनले भने, ‘भाग्ने, डराउने, तर्सिने कुरा होइन, हामी यसै पनि माओवादी हौं,’ पौडेलले भने, ‘हामी राजनीतिक रुपमा यसलाई फेस गर्छौं ।’

कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका थिए ।

राजीनामा दिँदा नयाँ सरकार गठनको बाटो खुल्ने थियो । प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारमाथिको समर्थन फिर्ता लिने तयारी गरेको छ । त्यसो गर्दा प्रचण्डले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ ।

यसका लागि माओवादीले अन्य साना दलहरुलसंग छलफल अघि बढाउने सहमति गरेको पौडेलको भनाई छ । यसका लागि रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गर्ने उनले जनाए ।