काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशलाई स्थायित्व दिन र संविधान संशोधनका लागि कांग्रेस–एमालेको समीकरण बन्न लागेको बताएका छन् ।
एमालेसँग सहमतिपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संशोधन प्रक्रियामा जाने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले केपी शर्मा ओली र शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गरिने बताए ।
राष्ट्रिय सहमतिकै सरकारको नाम दिइएको उक्त समीकरणमा आवश्यकता अनुसार अरु दललाई पनि समावेश गर्ने उनले जानकारी दिए । ‘नेतृत्व आलोपालो हुन्छ निर्वाचनसम्म । त्यसमा अरु दललाई संलग्न गर्न सकिन्छ’, उनले भने, ‘वृहत्तर राष्ट्रिय हितमा समझदारी बनेको छ । लिखित समझदारीमा नेतृत्व आलोपालो गर्ने मात्र छ । एकपटक ओलीजीले र अर्कोपटक शेरबहादुरजीले गर्नुहुन्छ ।
लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको उनको राय छ । सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको उनले दाबी गरे ।
साथै प्रधानमन्त्रीले राजीनामा नदिएमा के हुन्छ ? भन्ने प्रश्नको प्रतिउत्तरमा उनले सबैभन्दा ठूलो दलले समर्थन फिर्ता लिइसकेपछि नेतृत्व आफैंले बुझ्नुपर्ने बताए ।



























































