काठमाडौँ – नवगठित सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नती गर्न ३ सय दिनको समयसीमा दिने निर्णय गरेको छ ।
सरकार गठन भएलगत्तै सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्रिवि मैदानमा रात्रीकालीन खेल आयोजना गर्न सकिने गरी फ्लड लाइट निर्माण गर्न र दर्शक बस्ने प्याराफिट लगायतका पूर्वाधार निर्माणका लागि ३ सय दिनको समयसीमा दिने निर्णय गरेको उनले बताए ।
कीर्तिपुरमा फ्लड लाइट राख्ने निर्णय यसअघिको सरकारले नै गरेको थियो । तर, फ्लड लाइटका लागि आह्वान गरिएको ठेक्का समयमै लाग्न नसक्दा घोषणको दुई वर्षसम्म पनि कुनै प्रगति हुन सकेको छैन । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहँदा पनि घरेलू मैदान अन्तर्राष्ट्रिय स्तरको नहुँदा ठूलो प्रतियोगिता आयोजना गर्न समस्या पर्दै आएको छ ।



























































