बागमती– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।


ADVERTISEMENT


सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेमकिपा बैठक हुँदै

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न पार्टी संसदीय दलको बैठक आज बिहान ११ बजे आह्वान गरेको छ ।

विश्वासको मतका पक्षमा तीन दल

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रसहित तीन दलले विश्वासको मत दिने भएका छन् । उनलाई एकीकृत समजावादी र हाम्रो नेपाल पार्टीले विश्वासको मत दिने निर्णय गरेका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

एक सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीको सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।