काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको मत प्राप्त गरेका हुन् ।
कूल २७५ सदस्य रहेको प्रतिनिधिसभामा आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए । जसअनुसार नेपालको संविधानको धारा ७६(४) अनुसार आफूमाथि संसदको विश्वास छ भनी प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा १८८ जना सांसदले मतदान गरेको सभामुख देवराज घिमिरेले बताए । यस्तै प्रधानमन्त्री ओलीको प्रस्तावको विपक्षमा ७४ मत परेको र जना सांसद १ तटस्थ रहेका छन् ।
प्रधानमन्त्रीले प्राप्त गरेको मत प्रतिनिधिसभाको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत रहेको भन्दै सभामुख घिमिरेले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । प्रतिनिधिसभा बहुमतसहित विश्वासको मत हासिल गर्न १३८ मत आवश्यक हुन्छ ।

सङ्घीय संसद भवन,नयाँ बानेश्वरमा आइतबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा विश्वासको मत पाप्त गरेपछि अभिवादन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रासस
प्रधानमन्त्री ओलीलाई उनको पार्टी नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतले समर्थन गरेका हुन् । यस्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा मतदान गरेका छन्।
प्रतिनिधिसभाको अर्को बैठक साउन ७ गते (सोमबार) दिउँसो १ बजे बस्नेछ ।



























































