काठमाडौं– महाशिवरात्री मेलाको अवसरमा पशुपतिनाथ आएका साधुसन्तलाई विहिबार बाटो खर्चसहित बिदाई गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित महाशिवरात्री मेलामा आएका साधुसन्तहरुलाई विदाई गरेका हुन् ।


ADVERTISEMENT


पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि बिहीबार बिहान एक कार्यक्रम गरी उनीहरुलाई बाटो खर्चसहित विदाई गरिएको छ । जसअनुसार दिगम्बर साधुहरुलाई गुठी संस्थानले १ हजार ७ सय ५१ र कोषले १ हजार १ सय रुपैयाँ, जमातीय साधुहरुलाई गुठीले १ हजार ५ सय ५१ र कोषले ८ सय १, नागा साधुलाई गुठीले १ हजार ३ सय ५१ र कोषले ७ सय १, अवदुत महापुरुष साधुलाई गुठीले १ हजार १ सय ५१ र कोषले ५ सय १ रुपैँया नगद बाटो खर्चसहित बिदाई गरिएको हो । साधुसन्तहरुलाई बिहीबार विहानसम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


साधुसन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो । परापूर्व कालदेखिनै महाशिवरात्री मेलामा आएका स्वदेशी तथा विदेशी साधुसन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाईका क्रममा कोषले साधुसन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो ।