काठमाडौँ— सिक्टा सिँचाइ आयोजना निर्माण पूरा हुने समयावधि धकेलिँदै गएको आजको कान्तिपुरमा ठाकुर सिंह थारुले बाँकेबाट लेखेका छन् ।


ADVERTISEMENT


२५ अर्बभन्दा बढी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाइ हुँदा लागत पनि बढदै गएको छ । उक्त आयोजना सम्पन्न गर्न सरकारले पछिल्लोपल्ट आव २०७६र७७ को समय तोकेको छ । अझै ४६ प्रतिशत काम हुन बाँकी छ । यसले पनि समयमै काम पूरा नहुने शंका उब्जाएको छ ।


ADVERTISEMENT

# # #


निर्माण कम्पनीको ढिलाइले काम पूरा हुन नसक्ने आयोजना अधिकारी बताउँछन् । जिल्लामा कृषि क्रान्ति ल्याउने भन्दै आव ०६१र६२ मा सुरु गरिएको आयोजना लम्बिँदै गएको छ । सुरुमा तयार गरिएको आयोजनाले नसमेटेका राप्तीपारिका तत्कालीन ९ गाविसमा सिँचाइ पुर्‍याउने भन्दै आव ०७०र७१ मा गुरुयोजना संशोधन गरिएको हो । जसका कारण लागत र समय बढेको हो । सिक्टा सिँचाइले शाखा–उपशाखा गरी करिब २ सय ८० किलोमिटर लामो नहर निर्माण गरी खेतीयोग्य ८० प्रतिशत जग्गामा सिँचाइ पुर्‍याउने लक्ष्य छ ।

बाँकेमा करिब ३० प्रतिशत भू–भागमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । आव ०७६र७७ मा निर्माण सक्ने उक्त आयोजनाका लागि २५ अर्ब २ करोड बजेट लागत अनुमान सरकारलेगरेको छ । ‘सिक्टाको काम सक्न हामीसँग तीन वर्ष मात्रै समय बाँकी छ । तर त्यो अवधिमा सक्ने छाँटदेखिँदैन,’ सिक्टा सिँचाइका इन्जिनियर प्रकाश कार्की भन्छन्, ‘निर्माण कम्पनीको ढिलाइ त छँदैछ । प्राविधिक कारण पनि छन् ।’ मूल नहर निर्माण जिम्मा कालिका कन्स्ट्रक्सन्सले लिएको थियो । उसले निर्माण गरेको नहर आयोजनालाई हस्तान्तरण गरिसकेको छ । तर मूल नहर र स्लोभ वर्षाका समयमा पटकपटक भत्किँदै आएको छ ।

नहर भत्किएपछि गुणस्तरमा प्रश्न उठाउँदै छानबिनका लागि प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो । सहायक नहर निर्माण जिम्मा पोस्टल पप्पु जेभीले पाएको छ । तर उक्त कम्पनीले नहर निर्माणको कामलाई निरन्तरता दिन उदासीन बन्दै गएको छ । ‘पोस्टल पप्पु जेभीको काम सुस्त गतिमा छ । त्यसैले पनि समयमै काम सकिन समस्या देखिएको छ,’ इन्जिनियर कार्की भने, ‘बाढीले भत्काएका नहर पनि मर्मत गर्नुपर्ने छ । नहर जोगाउन नदी र खोलालाई नियन्त्रणको काम गर्न बाँकी छ ।’

गत साउन अन्तिम सातामा आएको बाढीले दर्जनभन्दा बढी स्थानमा मूलनहर भत्किएको हो । बाढीले मदुई, गावरपुरलगायत दर्जनभन्दा बढी स्थानमा नहर र स्लोभ भत्किएका छन् । मदुई नजिकको नहरको मूल स्लोभ भत्किँदा गाउँ नै डुबानमा परेको थियो । थुप्रै घर भत्किएर खाद्यान्नसमेत नष्ट भएको थियो । गावरपुर गाउँनजिकैको नहरसँग सटेको पुलसमेत भत्केको छ । गाउँ डुबान हुने गरी पटक–पटक नहर भत्किएपछि स्थानीयले गुणस्तर छानबिन माग गर्न थालेका हुन् । यसअघि परीक्षणका क्रममा अगैया ब्यारेजदेखि पश्चिमतर्फ पर्ने २६ किलोमिटर दूरीको झिझरी खोलामा मुख्य नहरकै १५ मिटर बाँध भत्किएको थियो ।

नहर निर्माणको जिम्मा कालिका सीटीसीले लिएको थियो । उक्त नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । आयोजनाअन्तर्ग ५० किलोमिटर मूल नहर निर्माण भइसकेको छ । परीक्षण र बाढी आएका बेला भने उक्त नहर भत्किने गरेका कारण गुणस्तरमा प्रश्न उठाइएको हो । राप्ती सोनारी २ मदुईका तुलसिंह खत्रीले निर्माणकै क्रममा कमजोरी भएका कारण पटक–पटक नहर भत्किने गरेको र गाउँ डुबानमा पर्दै आएको बताए । ‘बाढी आएपछि नहर भत्केर हामी हैरान भएका छौं । घर भत्काउँछ, अन्नबाली सबै नष्ट गरिदिएको छ,’ उनले भने, ‘नहर बलियो रूपमा बनेको भए हामीलाई यति धेरै क्षति व्यहोर्नुपर्ने थिएन ।’