काठमाडौँ – भारतको नयाँ दिल्लीबाट काठमाडौँको भिस्ताराको जहाजमा बम राखिएको हल्ला फैलिएपछि नेपाली सेनाले खोज थालेको छ । दिल्लीबाट मंगलबार अपराह्न ४ः२७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्ताराको जहाजमा बम राखिएको हल्ला फैलिएको थियो ।


ADVERTISEMENT


भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले खोजी कार्य जारी राखेको हो ।


ADVERTISEMENT

# # #


नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ । यात्रुललाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताए ।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको जानकारी दिए । उनका अनुसार अहिले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ । लगेज र कार्गोको चेक गरिनेछ ।

अहिले काठमाडौँ विमानस्थलको उडान–अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताए । उनले भने, “काठमाडौँ विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको भिस्ताराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न दिइएको छैन ।”