काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारको १०० दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


आफ्नो एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले मन्त्रालयको नीति, योजना तथा कार्यक्रम र गतिबिधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाइएको र लक्ष्य अनुसार सय दिनमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसबीचमा आएको बाढी र पहिरोपछि उद्दार राहत तथा विद्युत आपूर्ति लगाएतका सेवा पुर्‍याउनुपर्ने क्षेत्रमा ध्यान केन्द्रित गरेकाले लक्ष्य अनुसारको अन्य कामहरु चाडै सम्पन्न हुने उनले जनाए ।

उनले ठूला जलविद्युत् परियोजना, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण, निजी क्षेत्रको सहभागिता र दुर्गम क्षेत्रमा विद्युत विस्तार लगायतका कार्यहरुमा उल्लेखनीय प्रगति हासिल गरेको जिकिर गरे ।

मन्त्री खड्काले अन्तरदेशीय विद्युत व्यापार र जलस्रोत व्यवस्थापनका लागि द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई तीव्रता दिइएको, बाढी नियन्त्रण, बहुउद्देश्यीय आयोजनाको विकास र सिँचाइ सुविधाको विस्तार लगायतका क्षेत्रमा समेत महत्वपूर्ण उपलव्धी हासिल गरेको जानकारी दिए ।

एक वर्षभित्र देशका सवै नागरिकको घरमा विद्युत पुराउने, विद्युतको स्वदेशमा नै अधिकतम खपत गर्ने र बाँकी रहेको बिजुली भारत र वंगलादेशमा बिक्रि गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए ।

त्यस्तै मन्त्री खड्काले डडिकेटेड तथा ट्रंकलाइनका बिषयमा देखिएको असमझदारी मन्त्रालय र विद्युत प्राधिकरण मिलेर टुङ्गोमा पुराउने जिकिर गरे । प्राधिकरण र मन्त्रालयबीचको मतभेदको कुरा समाचारका शीर्षकमात्रै भएको र यसमा कुनै सत्यता नरहेको उनले बताए ।

उनले कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने कुनै सोच नरहेको उल्लेख गरे । मन्त्रालय र प्राधिकरणको टीम मिलेको भन्दै मन्त्री खड्काले घिसिङलाई पदबाट हटाउनुपर्ने आवश्यकता आफुले महशुस नगरेको पनि बताए ।

उनले व्यवसायीसंगको विवादलाई अन्त्य गर्दै प्रयोग भइसकेको विजुलीको बक्यौता प्रमाणका आधारमा असुल उपर गर्ने स्पष्ट पारे ।