काठमाडौँ– एमालेले शुक्रबार काठमाडौँमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना अनुरुप तोकेको एक लाखको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ ।
यससंगै जरिवाना असुल्ने प्रयास जारी राखेको महानगरीय टोली अर्काे पत्रसहित एमालेको केन्द्रिय कार्यालय च्यासल पुगेको छ । तर, महानगरको एक टोली पार्टी कार्यालयमा नै पुगेर पत्र दिन खोजे पनि एमालेले पनि पत्र बुझ्न अस्वीकार गरेको छ ।
यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमार्फत सार्वजनिक गरेको थियो ।
जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले सो पत्रमा भनेको छ, ‘फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १ लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार गर्दछु ।’
महानगरले काटेको कुनै पनि जरिवानाको पत्र नआएको एमालेले दाबी गरेसंगै महानगरको एक टोली आइतबार अर्काे पत्रसहित च्यासल पुगेको थियो । तर, कार्यालयका कर्मचारीले यो विषय आफूहरूसँग असम्बन्धित भन्दै फर्काइदिएको उनीहरुको भनाई छ ।
उक्त जागरणसभा एमाले केन्द्रीय कार्यालयले आयोजना गरेको नभइ जिल्ला कमिटीले आयोजना गरेकाले पत्र बुझ्न नसक्ने जवाफ एमाले मुख्यालयले दिएको महानगरले जनाएको छ । एमाले केन्द्रीय कार्यालयले पत्र बुझ्न नमानेपछि महानगरको टोली पत्र नबुझाइ फर्किएको छ ।



























































