काठमाडौँ– नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


अध्यक्ष प्रचण्ड निवासमा भएको पदाधिकारी बैठकमा आज बिहान बसेको पदाधिकारी बैठकले उपचुनावको समीक्षा गर्दै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


उपचुनावमा सबैतिरबाट माओवादीको राम्रो जनमत आएको माओवादीको ठहर छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, ‘बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’

कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको उनले बताए । आगामी जितका लागि उपचुनावले थप आधार दिएको सापकोटाको भनाई छ ।

सापकोटाले बृहत बामपन्थी एकीकरणका लागि थप आधार समेत उपनिर्वाचनले दिएको जनाए । आगामी २७ गते स्थायी कमिटीको बैठक बस्ने र उपनिर्वाचनका बारेमा थप समिक्षा गर्ने उनको भनाई छ ।

उनका अनुसार, बैठकले पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभालाई प्रभावकारी बनाउने र केन्द्रीय नेताहरु सहभागी हुने निर्णय गरेको छ । यस्तै सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको र सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाएको निष्कर्ष पनि निकालेको छ ।

प्रवक्ता सापकोटाले विद्युत प्राधिकरणले गरिरहेको काममा समेत सरकारले हस्तक्षेप गर्न खोजेको र भ्रष्टाचारीका साथै बिचौलियालाई जोगाउने प्रयास भएको उल्लेख गरे ।

उनले स्थायी समिति र केन्द्रीय समिति बैठकमा बिस्तृत रुपमा छलफल गरेर थप रणनीतिका साथ अघि बढ्ने उल्लेख गरे । उनले सरकार भत्काउने खेलमा माओवादी नलाग्ने स्पष्ट पारे । माओवादी बैठकले मंसिर २३ गते हुने भनिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हालका लागि स्थगीत गर्ने निर्णय समेत गरेको छ ।