काठमाडौँ – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको चुनौती दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनरका बासिर अहमद र राजेश पुलामी मगर चम्किएपछि विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो । त्यसक्रममा विराटनगरका लागि बासिर अहमदले सर्वाधिक ६८ रन बनाए । नटआउट रहेका उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै राजेशले २० बलमा १ चौका र ३ छक्काको मदतमा ३३ रन बनाए । यस्तै मार्टिन गप्टलले २५ बलमा १ चौका र ४ छक्काको मदतमा ४५ रन बनाए ।
बलिङतर्फ चितवनका रिजन ढकालले २ विकेट लिए भने सोहल तानविर, बासिल हमिद र कप्तान कुशल मल्लले समान १–१ विकेट लिए । चितवनले जवाफी ब्याटिङ गर्दैछ ।