काठमाडौँ – उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले निजी स्तरबाट खुलेका स्वास्थ्य संस्थाहरुले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार चितवनको भरतपुरमा नेशनल सिटि अस्पतालको उद्घाटन कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखी सहज रुपमा सुविधा उपलब्ध गराएर निजी स्तरबाट खुलेका स्वास्थ्यसंस्थाहरुले काम गर्नुपर्ने बताएका हुन् । निजी क्षेत्रवाट खुलेका अस्पतालवाट जनताले गुणस्तरीय सेवा पाउनुका साथै रोजगारी पनि सिर्जना गर्ने उनले बताए ।
त्यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले चितवन जिल्लामा बढ्दो शहरीकरणका साथै मेडिकल हवको रुपमा बिकास हुँदै गएको भन्दै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै बागमती प्रदेशका वनमन्त्री कृष्ण प्रसाद सिलवालले निजी क्षेत्रका अस्पतालहरूको लागि जग्गाको समस्या हुने गरेकाले यस बिषयमा उचित निकास निकाल्नुपर्ने धारणा राखे ।
नीजि क्षेत्रमा काम गर्दै आएका चिकित्सकहरुले १ सय शैयाको उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । अत्याधुनिक उपकरण र विशेषज्ञ सेवा रहेको उक्त अस्पतालमा करीब १ अर्व १५ करोड लगानी रहेको बताइएको छ ।