काठमाडौँ – सुदूरपश्चिम रोयल्स काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा प्रवेश गरेको छ । आइतबार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले एक खेल अगावै प्लेअफको यात्रा तय गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गसमाउँदै १५३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पोखरा १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमै समेटिएको हो ।
पोखराका लागि एन्ड्रिस हाउसले २१ बलमा ४ चौका र २ छक्का ठोक्दै सर्वाधक सर्वाधिक ३६ रन बनाए भने रेमन रेइफर २८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रनमा आउट भए । । यस्तै किरण ठगुन्नाले २८ बलमा ३ चौका र १ छक्काको मदतमा ३२ रन जोडे । यस्तै दिनेश खरेल १५ र जेन मालिक १० रनमा आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका स्टक कुग्लेइनले ५ विकेट चट्काए । उनल ३.४ ओभरमा १ मेडेन राख्दै १८ रन मात्रै खर्चिए । यस्तै हरमित सिंहले ३ तथा सायब जैबले १ विकेट लिए ।
यसअघि सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन हाने । नटआउट रहेका उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । यस्तै ब्राण्डन म्याक्मुलनले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४ तथा हमरित सिंहले १३ र इशान पाण्डेले १० रन जोडे ।
पोखराका कप्तान कुशल भुर्तेलले १० विकेट लिए भने रेमन राइफर, माइकल लिस्क र सागर ढकालले १–१ विकेट हात पारे ।
एनपीएलको समूह चरणको अन्तिम खेल भोलि हुनेछ । जसमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन् । उक्त खेलमा सुदूरपश्चिमले जिते समूह विजेताको रुपमा क्वालिफायर्स खेल्नेछ। काठमाडौँ गुर्खाजसँग ६ खेलमा ४ जितसहित बराबरी ८ अंक रहेको कर्णाली प्लेअफ पुग्न सुदूरपश्चिमसँग जित निकाल्नुपर्ने छ वा झिनो अन्तरको हार व्यहोर्नुपर्नेछ ।
विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।