काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासत कक्षमा सुतिरहेको भन्ने दाबी सहित सामाजिक सञ्जालमा एक फोटो भाइरल भइरहेको छ ।
फोटोमा टोपी लगाएका एक व्यक्ति सिरक ओडेर सुतिरहेको देखिन्छ भने उनको खाटनजिकै २–३ वटा किताब रहेको टेबुल देखिन्छ । रास्वपाका कार्यकर्ताहरु रातको सो फोटो दुई बजे खिचिएको सभापति लामिाछनेकै हो भन्ने दाबीका साथ फोटो सेयर गरिरहेका छन् । यता प्रहरीले भने उक्त तस्बिरबारे छानबिन थालेको छ ।
बुधवार रातिदेखि रास्वपा कार्यकर्तामार्फत भाइरल भएको सो तस्बिरको वास्तविकताबारे प्रहरीले छानबिन थालेको हो । फोटो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको प्रहरीले जनाएको छ ।
उक्त फोटो केही दिनअघि डा. निकोलश भुसाल नामक फेसबुक आइडीबाट पोष्ट भएको थियो । उनले अहिले डिलिट गरिसकेका छन् ।निकोलशले सो तस्बिर आफैँले खिचेको र कसैलाई दोषारोपण नगरेको भन्दै तस्बिर खिचेर सार्वजनिक गरेकोमा फेसबुकबाटै माफी मागेका छन् ।
कास्की प्रहरी प्रमुख एसपी अजयबाबु ओलियाले भने यो विषयमा अनुसन्धान भइरहेको बताएको छ । उनका अनुसार त्यो फोटो रवि लामिछानेकै हो कि होइन भन्ने पुष्टि हुन बाँकी छ र त्यसको अनुसन्धान सुरु गरिएको छ । कास्की हिरासतको फोटो हो ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो बारेमा पनि कन्फर्म भएको छैन । छानबिन गर्दैछौं ।’































































