काठमाडौँ– गएराति देखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको भन्दै एक फोटो भाइरल भएको छ । तस्बिरमा टोपी लगाएर सिरक आढेर सुतिरहेका व्यक्तिको खाट नजिकै किताब छरिएका टेबुल देखिन्छन् ।
रास्वपाका कार्यकर्ताहरुले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन् । कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट पनि गरेको देखिन्छ ।
रविका सहयोगी एवम् रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो रविकै भएको बताएका छन् । सीसीटीभीको फुटेजबाट प्रहरीले नै स्क्रिनसट गरेर फोटो निकालेको आरोप उनको छ । उनको प्रश्न छ, ‘रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ?’
केही दिनअघि डा. निकोलश भुसाल नामक फेसबुक आइडीबाट पोष्ट भएको उक्त फोटो अहिले डिलिट भइसकेको छ भने डा. भुसालले सो तस्बिर आफैँले खिचेको कसैलाई दोषारोपण नगरेको भन्दै तस्बिर खिचेर सार्वजनिक गरेकोमा फेसबुकबाटै माफी मागेका छन् । यस्तै, उनले तस्बिरका बारेमा वास्तविकता सार्वजनिक गर्ने पनि बताएका छन् । यद्यपि प्रहरीले भने तस्बिरको वास्तविकताबारे अनुसन्धान थालेको बताएका छन् ।
यसरी कसैको अनुमति विना फोटो/भिडियो खिच्न र सार्वजनिक गर्न नपाइने अझ हिरासतमा रहेका व्यक्तिहरुको तस्बिर यसरी सार्वजनिक गर्नु थप संवेदनशिल रहने कानुन जानकारकहरु बताउँछन् ।
अझ कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु कानुनी रुपमा पनि दण्डनीय रहने व्यवस्था मुलुकी संहितामै रहेको अधिवक्ता विनोदमणि भट्टराईको भनाई छ ।
उनका अनुसार, यसरी न्यायिक हिरासतमा रहेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक गर्ने गतिविधिले साइबर क्राइम लगायतका कानुनी व्यवस्था आकर्षित हुनसक्छ ।































































