भक्तपुर– भक्तपुरको ऐतिहासिक नगरी भक्तपुरको मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ ।
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्सव तीन दिनसम्म मध्यपुर नगरका बिभिन्न स्थानमा सञ्चालन हुनेछन् । हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ महोत्सवको उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।
सो क्रममा सिंहले मौलिक खाना, कला–संस्कृति लगाएत परम्परागत सीपको जगेर्नाका साथै जिवन्त राख्न महोत्सवले टेवा पुराउने विश्वास व्यक्त गरे ।
महोत्सवमा मध्यपुरथिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
थिमि शंखधरचोकदेखि नगदेश र बोडे हुदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई प्रदर्शनी स्थलको रुपमा प्रस्तुत गरिएको छ । महोत्सवका क्रममा नगरका विभिन्न स्थानमा करिब ४०० स्टल रहेको छ ।



























































