काठमाडौं–सवारी दुर्घटना न्यूनीकरण गर्न कर्णाली प्रदेशबाट चल्ने सवारी साधनमा जिपिएस ट्रयाकर राखिने भएको छ ।


ADVERTISEMENT


कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चल्ने सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न लागिएको हो । मोबाइलको टावरले काम गर्ने उक्त प्रणाली जडान गरेपछि सवारी साधन कहाँ, कति दूरीमा पुग्यो भन्ने थाहा हुन्छ । यदि दुर्घटना भएमा त्यसको जानकारी राख्न सजिलो हुन्छ ।


ADVERTISEMENT

# # #


कर्णाली प्रदेशका सबै ठाउँहरूमा मोबाइल सेवा नभएकाले जिपिएस ट्रयाकरले यस प्रदेशका सबै सडकहरूमा काम गर्नेछैन । तर यसका लागि कालिकोटको कालिका डाँडामा नेपाल टेलिकमको रिपिटर टावर राख्नुपर्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (एआईजी) रणबहादुर चन्दले बताए । उक्त ठाउँमा रिपिटर टावर राखिएमा कर्णाली प्रदेशका सबै सडकहरूमा जिपिएस ट्रयाकरका माध्यमबाट सम्पर्क हुन सक्ने उनको भनाइ छ ।

यस्तै, कर्णाली प्रदेशमा चल्ने सवारी साधन, सवारी चालक अनुमति पत्रको जाँचलगायतका कार्य पनि प्रविधिको माध्यमबाट गर्ने गरि व्यवस्था मिलाइने जनाइएको छ ।

दुर्घटना रोक्न अन्य योजना
यसैगरी, कर्णाली प्रदेशमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न कर्णाली राजमार्ग, छिन्चु–दैलेख सडकखण्ड र रुकुम–सल्यान राजमार्गमा प्रहरी गस्ती सञ्चालन गरिने एआइजी चन्दले जानकारी दिए । उनका अनुसार सवारी चालक, सडक प्रयोगकर्ताहरूका लागि चेतनामूलक ‘सडक सुरक्षा कार्यक्रम’ पनि सञ्चालन गरिने छ ।

यस्तै, रुट परमिट नपाएका सडकहरूमा दुर्घटना बढेका कारण ती सडकहरूमा रुट परमिट नपाएसम्म सवारी साधन चल्न नदिने चन्दले बताए । प्रहरीका अनुसार मुख्य सडकका संवेदनशील स्थानहरूमा आवश्यक सुरक्षा संकेतहरू राखिनुका साथै धेरै दुर्घटना हुने ठाउँहरू, पेट्रोल पम्पको दूरी, मर्मत गर्ने ठाउँको दूरी, प्रहरी ईकाई आदिको जानकारी हुने गरि बोर्डहरू राखिने छ ।

यति गर्न सकिएमा उक्त प्रदेशमा हुने सवारी दुर्घटनालाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने प्रदेश प्रहरी प्रमुख चन्दको भनाइ छ । यस्तै, प्रहरीले यात्रुको सुविधालाई मध्यनजर गर्दै कर्णाली राजमार्ग (जुम्ला–कालिकोट–सुर्खेत) सडकखण्डमा चल्ने सवारी साधनहरूलाई लगाएको टाइम कार्डको व्यवस्था परिवर्तन गरेको छ ।

अब उक्त राजमार्गमा चालकले मादक पदार्थ सेवन नगरेका साना सवारी साधनलाई आवतजावत गर्न दिने व्यवस्था मिलाइएको छ ।