काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्य पार्टीसंग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् ।
शुक्रबारबाट ललितपुरमा सुरु नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुभारम्भ गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी आफ्नो बिचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्य पार्टीसंग एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् ।
कहिले एमाले र केहिले माओवादीसंग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको उनले बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै उहाले तत्कालिन अवस्थामा गरेको बिद्रोहको औचित्य पुष्टि हुदै गएको धारणा राखे ।
उनले वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको आरोप लगाए । सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नुपर्ने उनले जनाए । उनले समाजवादको पक्षमा रहेका शक्तिहरुलाई एकतावद्ध गर्नका लागि पहलकदमी लिइरहेको जिकिर गरे ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गर्नुभएको छ । निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगाएतका बिषय आचारसंहितामा समेटिएको छ ।