काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफू खुसी योजनामा बजेट छुट्याउने प्रवृत्तिलाई अन्त्य गर्न र प्राथमिकताका आधारमा विकास निर्माणका कार्य सम्पन्न गराउन आयोजना बैंकको कार्यविधि ल्याइएको बताएका छन् ।
प्रदेश योजना आयोगले बुधबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय आयोजना तर्जुमा सम्बन्धी अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आयोजना बैंकमा रहेका योजनाहरु प्राथमिकताका आधारमा सम्पन्न गर्दै लैजान सकिने भएकाले योजना छनौटमा व्यापक छलफल हुने बताए । उनले योजना छनौट गर्ने विधि, प्रक्रिया र पद्धति विकास गर्न सकिए मात्र आवश्यकता, औचित्य र प्राथमिकताका आधारमा योजनाहरु सम्पन्न गर्न सकिने धारणा राखे ।
अन्तक्रिर्या कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले एउटै योजनामा संघ, प्रदेश र स्थानीय सरकारको लगानी दोहोरिने सम्भावना न्यून गर्न पनि आयोजना बैंक आवश्यक रहेको बताए । आयोजना बैंकको कार्यविधि बारे प्रदेश सांसदहरु बीच छलफल आवश्यक रहेको उनले बताए ।
कोशी प्रदेश सरकारले ५० लाख रुपैया देखि २ करोड सम्मका योजनाहरु छनौट गरी आयोजना बैंकमा राख्न आयोजना बैंकको कार्यविधि बनाएको छ । प्रत्येक वर्षको पौष मसान्त सम्म योजनाहरु माग गर्ने र प्राथमिकतामा राखेर वाषिर्क नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीति कोशी प्रदेश सरकारले लिएको छ ।