काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारवाही हुनु उचित नभएको बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारवाही हुनु उचित नभएको भन्दै संसद सचिवालयसंग यस विषयका छलफल गर्ने बताए । उनले कारवाहीलाई फिर्ता गर्ने तर्फ लाग्ने धारणा राखे । घिमिरेले सञ्चारकर्मीलाई पनि मर्यादित भएर प्रश्न गर्न आग्रह गरे । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिने उनले बताए ।
त्यस्तै रास्वपा सांसद मनिष झाले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा पत्रकारको पास निलम्वन गर्ने कामको विरोध गरे । आफ्नै विरुद्ध बोल्दा आफ्नै दलका नेतालाई कारवाही गर्ने प्रधानमन्त्री केपी ओलीले पत्रकारमाथि पनि त्यही अनुसारको व्यवहार देखाउन थालेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेपछि अन्य सांसदहरुले समेत विरोध जनाएका छन् ।