काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शुन्य अंक दिनुपरेको स्पष्ट पारेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताएका हुन् । उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्रचार गर्दा कुलमानले आफैलाई नंवर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे ।
मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानूनभन्दा माथि कोहि हुन नसक्ने धारणा राखे । आफु मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भएपनि अध्ययन गर्दै जादा धेरै कमजोरी देखिएको बताए । उनले प्राधिकरणले उठाउन नसकेको वक्तौतालाई आधार मानेर नाफा देखाएको तर्क गरे ।
प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक पटक निर्णय भएपनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलव्ध नगराएको आरोप लगाए । मन्त्री खड्काले प्रक्रिया नै पुरा नगरि भारतसंग विधुत खरिदको सम्झौता गरेको जिकिर गरे ।
उनले कुलमानका कारण नभइ भारतबाट सहजरुपमा विद्युत आपूर्तिका साथै मुलुकमा विधुत आयोजनाबाट थप विधुत उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए ।