सुनसरी – एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा गत शुक्रवार धरान उपमहानगरपालिका– १२, सुनसरीमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभामा संस्थाको सञ्चालक समितिको प्रतिवेदन र वार्षिक आर्थिक विवरण पारित गरिएको छ । यसका साथै, वार्षिक आर्थिक विवरणसँग सम्बन्धित विभिन्न अनुसूचिहरू पनि छलफल र अनुमोदनका लागि प्रस्तुत गरिएको छ।
सभाले विशेष प्रस्तावमा पेश भएको एक महत्वपूर्ण निर्णय पारित गर्दै संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्तावमा नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेको जानकारी पनि दिइएको छ। यस प्रस्तावअनुसार, तत्कालिन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीको नाममा रहेका संस्थापक शेयरहरूलाई सर्वसाधारण शेयरमा रूपान्तरण गरिने बताइएको छ
कम्पनीका अनुसार, यो परिवर्तन पछि, एकीकृत संस्थाको कुल चुक्ता पुँजीको २.६३ प्रतिशत, अर्थात् ४ लाख ५७ हजार ८ सय २१ कित्ता संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइनेछ। यस निर्णयले संस्थाको शेयर संरचनामा संस्थापक र सर्वसाधारण शेयरधनीहरूको अनुपात क्रमशः ६५.५६ र ३४.४४५ कायम गर्ने विश्वास लिएको छ ।
साधारण सभामा संस्थाका अधिकारीहरू, शेयरधनीहरू र विभिन्न स्टेक होल्डर्सहरूको उत्साहपूर्ण सहभागिता थियो। यस निर्णयले संस्थाको भविष्यमा वित्तीय प्रगति र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।






























































