काठमाडौं – भोटेकोशी नदी र रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतमा तीव्रता दिन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक बैठकमा सांसदहरूले रसुवा र नुवाकोटमा हजारौँ नागरिक उद्धारको पर्खाइमा रहेको भन्दै तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउन सरकारसँग आग्रह गरेका हुन्।


ADVERTISEMENT

# # #


नुवाकोटका सांसद अर्जुन नरसिंह केसीले विपद् प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र एकीकृत राहत प्याकेज ल्याउन माग गरे। उनले बाढीपहिरोबाट भएको ठूलो क्षतिको सम्बोधन गर्दै बेपत्ता नागरिकको खोजी तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माणका लागि तत्काल योजना घोषणा गर्नुपर्ने बताए।

रसुवाका सांसद मोहन आचार्यले ठूलो मानवीय क्षति भएको प्रारम्भिक अनुमान रहेको भन्दै विपद्लाई तत्काल ‘राष्ट्रिय विपद्’ घोषणा गरी उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह गरे। सडक सञ्जाल विच्छेद भएकाले उद्धारका लागि हेलिकप्टरबाहेक विकल्प नरहेको भन्दै उनले उपलब्ध सबै हेलिकप्टर तत्काल रसुवा पठाउन माग गरे।

त्यस्तै, सांसद वसुमाया तामाङले हेलिकप्टरसहितको टोली पूर्ण क्षमतामा परिचालन गरी सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको तत्काल खोजी र उद्धार गर्न माग गरिन्। घरबारविहीन पीडितका लागि निःशुल्क खानपान, अस्थायी बसोबास र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

अन्य सांसदहरूले पनि स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन र जोखिमयुक्त यात्रामा तत्काल रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन्।