काठमाडौँ– प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुने र त्यसको वरपरका क्षेत्रमा सभा, विरोध र प्रदर्शनको लागि अनुमति नदिन सरकारलाई निर्देशन गरेको छ ।


ADVERTISEMENT


आज बसेको बैठकले गत चैत् १५ गते राजावादी समूहहरुको हिंसात्मक घटनालाई मध्यनगर गर्दै यस्तो निर्देशन गरेको हो । त्यस्तै आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहरिनबाट रोक्न एवं मुलुकको व्यवस्था रक्षाका लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिइएको सभापति खतिवडाले उल्लेख गरे ।

बैठकमा गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते भएको घटनाका दोषीलाई कारवाही हुने स्पष्ट पारे । उनले आगामी दिनमा यस प्रकार गैरजिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार गम्भीर रहेको उल्लेख गरे । संविधानलाई हिंसात्मक गतिविधिबाट उल्टाउने नियतका साथ चैत्र १५ गतको घटना भएको भन्दै उहाले सवै सचेत हुन जरुरी रहेको उल्लेख गरे ।

उक्त घटनामा प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएको उनले जानकारी दिए । बैठकमा समिति सदस्यहरुले चैत्र १५ गतेको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाका बिषयमा छानविन गर्नुपर्ने धारणा राखेका थिए ।