काठमाडौं- मेटलाइफ नेपालले गण्डकी प्रदेशमा आफ्नो सेवा विस्तार गर्दै पोखरामा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। कम्पनीले पोखरा महानगरपालिका–८, न्यूरोडस्थित अव्यक्त कम्प्लेक्समा नयाँ कार्यालय स्थापना गरेको हो।
नयाँ कार्यालय सञ्चालनमा आएसँगै गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारले बीमासम्बन्धी सेवा थप छिटो, सहज र गुणस्तरीय रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कार्यालय उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
नयाँ कार्यालयबाट बीमा परामर्श, पोलिसीसम्बन्धी सेवा, दाबी (क्लेम) सहजीकरण तथा अन्य ग्राहक सेवा स्थानीय स्तरबाटै उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने लक्ष्य राखिएको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गण्डकी प्रदेश मेहनती, सम्भावनायुक्त र उद्यमशील व्यक्ति, परिवार तथा व्यवसायहरूको प्रदेश रहेको बताएका छन्। उनले गण्डकीमा प्रदेश कार्यालय स्थापना गर्नु कम्पनीको यस क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्।
उनका अनुसार बीमा सेवा सबैका लागि सहज, पहुँचयोग्य र आवश्यकताअनुसार उपयोगी हुनुपर्छ। नयाँ कार्यालयमार्फत ग्राहकसँग थप नजिक भएर उनीहरूको आर्थिक भविष्यलाई सुरक्षित बनाउन कम्पनीले योगदान गर्ने उनले बताएका छन्।
कम्पनीका अनुसार गण्डकी प्रदेश कार्यालय सञ्चालनमा आएसँगै स्थानीय समुदायसँगको सहकार्य थप सुदृढ हुने, बीमा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने तथा प्रदेशभरका व्यावसायिक संस्था र विभिन्न निकायसँगको सहकार्य विस्तार हुनेछ।
मेटलाइफ नेपालले सन् २००१ देखि नेपालमा जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमालगायतका सेवा प्रदान गर्दै आएको छ।



























































