ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार ललितपुरको पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए ।


ADVERTISEMENT

# # #


देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयन सम्पदाको संरक्षण साझा दायित्व भएको उनले जनाए । उनले नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् प्रकृतिको वरदानका रुपमा कैयांै रमणीय स्थलहरू रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थलहरू नेपालीहरूको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको सुनाए ।

राष्ट्रपति पौडेलले स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य समेत रहेको मुलुकको सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताए । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाई छ ।

राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भुकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत स्वरूप र संरचनामै पुनर्निर्माण तथा जिर्णोद्धार चुनौतिपूर्ण कार्य हुँदाहुँदै देगुतलेजु मन्दिर पुननिर्माणले पाएको सार्थकताले पाटनको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे ।